रोल्पामा आपराधिक विश्वासघात कसुरमा एकजना पक्राउ

२८ वैशाख, रोल्पा । रोल्पाको होलेरी स्थित हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उपशाखामा अपरेसन सपोर्ट पदमा कार्यरत रहँदा आपराधिक विश्वासघात सम्बन्धी कसुर गरेको भन्दै प्रहरीले ३१ वर्षीय गणेश पहाडीलाई पक्राउ गरेको छ । पहाडीलाई आईतवार रोल्पा जिल्ला अदालतबाट दश दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सल्यान शारदा नगरपालिक-४ घर भई हाल घोराही उपमहानगरपालिका-१५ तुलसीपुरचौकमा बस्दै आएका पहाडीलाई होलेरी शाखामा कर्यरत हुँदा बिमितबाट बिमा रकम बुझ्ने, तर कम्पनीको सफ्टवेयरमा अध्यावधिक नगरेको आरोप छ । उनले आफुखुशी ५६ जना बिमितको १८ लाख ६७ हजार ७ सय १ रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक बिजय चापागाईका अनुसार पहाडी माथि आवश्यक छानबिन अघि बढाईएको छ ।

पक्राउ परेका पहाडी घोराही स्थित हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस