१०जेठ, रोल्पा । रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । सदरमुकाम लिबाङको भट्ट होटेल अगाडिबाट बाजागाजा सहित बजार परिक्रमा गरी शनिबार उद्योग वाणिज्य संघको हलमा पुगेर एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो ।
घोषणा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख एवं जिल्ला खोप समन्वय समितिकी अध्यक्ष सीता आचार्यले गरेकी थिईन् । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खोप समन्वय समितिकी अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले रोल्पालाई पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाणीकरणको घोषणा गरेकी हुन् । श्रेष्ठले जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समित रोल्पाका प्रमुख आचार्य र स्वास्थ्य कार्यालयकी निमित्त प्रमुख सीता कंवरलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिन् ।
जिल्लाका पालिकाका जनप्रतिनिधि र सरोकारवाला समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका एक नगरपालिका र नौवटा गाउँपालिका सबै पूर्ण खोप सुनिश्चित भएपछि जिल्लालाई पनि घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा रोल्पाका १६ देखि २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता गरिएपछि लुम्बिनी प्रदेश सरकार पूर्ण खोप समन्वय समितिलेको सचिवालयले प्रमाणपत्र दिएको हो । राष्ट्रिय खोप तालिका अनुसार यहाँका बालबालिकाले पाउने सबै खोपहरु पाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विभिन्न साँस्कृति प्रस्तुति सहितको घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेविकालाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । वक्ताहरुले जनस्तरमा खोप लगाउन प्रेरित गर्ने कार्यक्रमलाई व्यापक वनाइरहन सुझाएका थिए ।

कति लगाए खोप
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर १५ महिना भित्रका ४ हजार ८ सय ४७ बालबालिकाले खोप लगाईरहेका छन् । १६ देखि ५९ महिनाका १४ हजार ३ सय ३ बालबालिकाले पूर्ण खोप पाएका छन् ।
महिलाहरुको पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप १२ हजार ८ सय २ जनाले पाएका छन् । जिल्लामा २ सय २० खोपकेन्द्रबाट प्रत्येक महिना २ सय २४ खोप सेवा निरन्तर चलिरहेको समेत जनाईएको छ ।
२०६७ सालदेखि नेपाल सरकारले खोप सेवा प्रभावकारी बनाई पूर्ण खोप घोषणाको अवधारणा अघि सारेको थियो । सरकारको नीति बमोजिम रोल्पा २०७५ माघ २५ गते पहिलो पटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।


