मकै बालीमा फौजी किराको प्रकोप

१असार, रोल्पा । सुनछहरी गाउँपालिका–२ का किसान दलवीर बुढालाई यतिबेला खेतीबारीमा देखा परेको फौजी किराको प्रकोपले सताएको छ । दुःख र मेहेनत गरी लगाएको बालीमा अमेरिकन फौजी किराको प्रकोप देखा पर्न थालेपछी उनी चिन्तित बनेका छन् । 

दलवीरको मात्र होइन् जिल्लाका विभिन्न भागहरूमा गरिएको मकै खेतीमा यतिबेला अमेरिकन फौजी किराको प्रकोप देखा परेको किसानहरू बताउँछन् । जिल्लाका केही भूभागहरूमा गरिएको मकै खेतीमा अमेरिकन फौजी किराको प्रकोप देखा पर्न थालेपछी किसान चिन्तित बनेका छन् । फौजी किराले सुरुमा मकैको पाट र बिस्तारै मकैको गुभो नै खाइदिने गरेपछि मकै उत्पादनमा ह्रास आउने चिन्तामा किसान रहेका छन् । जिल्लाको सुनिलस्मृति गाउँपालिका, लुंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका लगायत विभिन्न भूभागमा खेती गरेका किसानको बालीनालीमा फौजी किराको प्रकोप देखा परेको पाइएको छ ।

मकैमा महामारीको रूपमा फैलिएको किराको प्रकोपले बालिनै सकिदिने पो होकी भन्ने चिन्ता भएको लुंग्री गाउँपालिका–४ का किसान सुनिता रोकामगरले बताइन् । मेहनत गरेर लगाएको बालीमा प्रकोपको कारणले गर्दा बिरुवाहरू सखाप हुँदै गएको उनको भनाई छ । गत वर्षहरूमा पनि अमेरिकन फौजी किराले गर्दा मकै उत्पादनमा ह्रास आएको उनले बताए । लुंग्री गाउँपालिकाका कृषि शाखा प्रमुख भुपेन्द्र कुमार पाण्डेले मकैबालीमा फौजी कीरा देखा परेको जानकारी प्राप्त भएको बताए । बालीमा फौजी कीरा देखा परेको भन्दै किसानले गुनासो गरेपछि पालिकाबाट विषादी वितरण गरिएको उनले बताए ।

गाउँपालिकाको नम्जा, गुम्चाल, सेवार लगायतको भागमा यसको प्रकोप देखिएको उनले जानकारी दिए ।  मकैमा देखा पर्ने यो कीरा फौज तथा सेना जस्ता गरी ठुलो संख्यामा आउने भएकाले यसलाई फौजी कीरा भनिएको हो । यो अमेरिकामा उत्पत्ति भई अफ्रिका, भारत हुँदै नेपाल भित्रिएको बताइन्छ । यो किराको लागि यतिबेलाको मौसम अत्यन्तै उपयोगी मानिन्छ । विगत केही वर्षयता नेपालका किसानहरूलाई यस किराले सताइरहेको कृषि सम्बन्धी जानकारहरू बताउँछन् । ‘फौजी किराले लार्भा अवस्थामा बालीलाई क्षति गर्दछ ।

कृषि ज्ञान केन्द्र रोल्पाका बाग्वानी प्राविधिक अधिकृत तथा सूचना अधिकारी प्रेम बहादुर वलीले मकैमा फौजी किराको प्रकोप देखिएको जानकारी प्राप्त भएपछि ज्ञान केन्द्रबाट विषादी पठाइएको जानकारी दिए । ‘फौजी किराले मकैको गुभामा पसेर कलिलो अवस्थामा क्षति गर्ने र पछि मकैको कोसामा समेत पसेर क्षति गर्दछ’ उनले भने । मकै बालीमा मात्र नभई प्राय हरियो बालीमा सो किराले क्षति पु¥याउने गरेको उनले बताए ।

जिल्लाको कुल भूभागको १४ हजार ३ सय ६० हेक्टर क्षेत्रफलमा किसानहरूले मकैको खेती गर्ने गरेको तथ्याङ्क छ । पहाडी भूभागको मुख्य बाली नै मकै हो । रोल्पाको प्राय अधिकांश भूभागमा मकै खेती गर्दछन् । जिल्लाको केही भागमा मात्र यो समयमा अन्य बालीहरूको उत्पादन गरिन्छ । 

प्रकाशित मिति : २०८२ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस