रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

१७ वैशाख, रोल्पा । रोल्पाको जलजलामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रुकुमपूर्वबाट जलजलामा पूजा गर्न आएका तीर्थयात्री सवार जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा १७ जनाको मृत्यु भएको रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो । जीपमा सवार सहचालक र एक जना यात्रु हाम फालेर ज्यान जोगाउन सफल भएको गौतमले बताउनुभयो । मृतकहरूको पहिचान भने अझै हुन सकेको छैन ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप थवाङ गाउँपालिका–१ सल्याप क्षेत्रमा बिहीबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीले बताउनुभएको छ । जीप सडकबाट करिब ८ सय मिटर तल खसेको सूचना अधिकारी थापा नेपालीले बताउनुभयो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने बराह पूजामा सहभागी हुन तीर्थयात्रीहरू आएका थिए । अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस