२८साउन, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका- ५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । भने ३जना अझै बेपत्ता रहेका छन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मृत्यु हुनेको संख्या १० पुगेको हो ।
मृत्यु हुनेहरुमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुनमगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर छन् ।
त्यस्तै, रोल्पाको लुंग्रि खोला र प्युठानको माडी नदीको विभिन्न स्थानमा थप पाँच जनाको शव फेला परेको थियो। तीमध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय अशिम पुन र ५ वर्षीय अशोक पुनको पहिचान खुलेको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको छ।
पहिरोले ९ वटा घर, १ घुम्ती पसल, २ वटा गोठ र १ वटा चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले बताएका छन् ।
घटनास्थलमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ। खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, इलाका प्रहरी कार्यालय थबाङ, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा विपद् उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको विपद् उद्धार सामग्री र घटनास्थल अनुसन्धान टोलीसमेत परिचालन गरी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।


