सम्फाको ‘समयका घाउहरू’ मुक्तक सङ्ग्रह लोकार्पण

२७ असोज, रोल्पा। सम्फा घर्तीमगरको पहिलो मुक्तक सङ्ग्रह ‘समयका घाउहरू’ लोकार्पण गरिएको छ। सोमबार सनस्टार युवा क्लब, रोल्पाले लिस्नेमा आयोजना गरेको घुम्ती बैठक तथा ‘साहित्यिक तथा सांगीतिक गुञ्जन’को लिस्ने संस्करण कार्यक्रममा उक्त मुक्तक सङ्ग्रह लोकार्पण गरिएको हो।

मुक्तक सङ्ग्रहमा १३६ वटा मुक्तक समावेश छन्। सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसी, सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी र रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्यलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

लोकार्पित कृतिमाथि साहित्यकार भगवती बुढामगरले समीक्षा गरेकी थिइन्। उनले मुक्तक सङ्ग्रहमा लेखकले विभिन्न विषयवस्तुलाई गहन ढङ्गले उठाएको बताइन्। उनका अनुसार सङ्ग्रहमा जीवनका अनुभव, परिवर्तन र अनुभूतिहरू समेटिएका छन्।

सङ्ग्रहमा प्रेम, वियोग र सम्बन्धका खुसीसँगै तिनले निम्त्याउने अविश्वास र चोटहरूलाई अभिव्यक्त गरिएको बुढामगरले बताइन्। साथै, कृतिले सामाजिक यथार्थ उजागर गर्नुका साथै अन्यायविरुद्ध चेतना जगाउने प्रयास गरेको उनको भनाइ थियो।

सम्फाको पहिलो मुक्तक सङ्ग्रह ‘समयका घाउहरू’ ललित साहित्य परिषद्, रोल्पाले प्रकाशन गरेको हो।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस