लिबाङका माछा पसलमा अनुगमन

२० पुस, लिबाङ ।
रोल्पाको सदरमुकाम लिबाङमा रहेका माछा पसलहरुमा अनुगमन गरिएको छ । आइतबार जिल्लाका सरोकारवालाहरुले माछा पसलको अनुगमन गरेका हुन् । माछा पसलहरुमा स्वास्थ्य मापदण्ड अनुसार भएनभएको साथै प्रतिबन्धित र म्याद गुज्रेका माछाहरु विक्रि हुनसक्ने भएकाले अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरङ्गाले बताउनुभयो ।

अनुगमनको क्रममा माछा पसलहरुबाट प्रतिबन्धित मंगुर जातको माछा (जुंगे माछा) ३३ किलो ७ सय ग्राम जफत् गरी जिल्ला प्रशासन कार्यालयको परिसरमा खाल्डो खनेर नष्ट गरिएको छ । यस्तै विभिन्न माछा फ्रेस हाउसमा राखिएका ढक तराजुको नापतौल बिग्रेको पाइएकाले तराजुनै जफत गरिएको छ । ग्राहकमाथि खेलबाड हुन नदिन ती तराजुहरु सम्बन्धित व्यक्तिलाई दिई सम्झाउने र तत्काल बनाउन लगाउने शर्तमा फिर्ता दिने निर्णय भएको छ । अनुगमनमा सबै माछा फ्रेस हाउसमा सरसफाई गर्नुपर्ने, प्यानकार्ड लिएर दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने, स्पष्ट खुल्ने गरी दररेट भित्तामा राख्नुपर्ने लगायत सुझाव अनुगमन टोलीले दिएको छ ।

नेपाल सरकारले प्रतिबन्ध गरेको मंगुर माछा स्वास्थ्यका लागि घातक हुने भएकाले नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । अत्यधिक फोहोरमा हुर्किने र दूर्घन्धित चिजबस्तुहरु आहार बनाउने भएकाले मंगुर माछा पालनमा सरकारले रोक लगाएको हो । मानव स्वास्थ्यमा नकारात्मक असरसँगै क्यान्सर रोगसमेत निम्त्याउने चिकित्सकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् । भारतमा भने दुईवर्ष अघिबाट नै मंगुर जातको माछा पालन तथा बेचविखनमा प्रतिबन्ध लगाइसकेको छ । नेपालमा पनि केही समय अघिबाट प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा दोरङ्गाले बताउनुभयो । उहाँका अनुसार प्रतिबन्धसँगै कडाईका साथ अनुगमन समेत थालिएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा नेतृत्वमा पशु अस्पताल तथा विज्ञ केन्द्र रोल्पाका प्रमुख सुदाम भट्ट लगायत शाखाका पदाधिकारीहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष केसी लगायत सुरक्षाकर्मीहरु, रोल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष केशव आचार्य, रोल्पा नगरपालिका पशु शाखा प्रमुख दिलमाया बिष्ट लगायत पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस