
२० पुस, रोल्पा ।
गत वर्षदेखिको गृहकार्य पश्चात रोल्पाको सुनछहरी गाउँपालिका जेल्बाङमा होमस्टे सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा नं. ७ जेल्बाङमा ११ घरले होमस्टे सञ्चालन थालेको बताइएको छ । पर्यटन व्यवसायलाई विकास गर्ने उद्देश्यसहित ‘जेल्बाङ पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टे’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष पृथ्वी पुनमगरले बताउनुभयो ।
मुलुकका १०० पर्यटकीय गन्तब्यमध्ये पर्ने जलजला क्षेत्र जानका लागि पूर्वी प्रवेशद्वारको रुपमा रहेको जेल्बाङमा होमस्टे सञ्चालन गर्दा पर्यटकीय क्षेत्र विस्तारका साथै स्थानीयले रोजगार समेत पाउने भएकाले यस्तो निर्णय गरिएको अध्यक्ष पृथ्वी पुनमगर बताउनुहुन्छ । शनिबार प्रथम साधारणसभा आयोजना गर्दै संस्थाले होमस्टेको विकास गर्नुका साथै जेल्बाङको पर्यटकीय विविधतालाई उजागर गर्न पनि पहल गर्ने बताएको छ ।
होमस्टे सम्मिलित संस्थाले जलजला दर्शनका लागि आउने पर्यटकका लागि भन्दै टेण्ट, सिलिपिङ ब्याग लगायतका सामग्रीहरु समेत खरिद गरेको छ । यसका साथै सुनछहरी गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य, रैथाने संस्कृति, भाषा लगायतका विषयमा भिडियो डकुमेन्ट्री, ब्रोसर, पम्पलेट लगायतका प्रचार सामग्री तयार पार्ने बताएको छ ।
जेल्बाङकै लुङटुङमा सहिद स्मृति पार्क बनाउने र पार्कमा सहिद तथा बेपत्ताहरुको नाम राख्ने वा सम्भव भए शालिक बनाउने योजना रहेको संस्थाका अध्यक्ष पुनले बताउनुभयो । पार्क क्षेत्रमा बाह्रभाइ बराह लगायत धार्मिक स्थल र मन्दिर निर्माण गरेर देशकै नमुना शान्ति बाटिकाको रुपमा स्थापित गर्ने पुनको भनाई छ । गुरिल्ला ट्रयाकका लागि पनि चर्चामा रहेको जेल्बाङ–जलजला–थबाङ मार्गमा होमस्टे सञ्चालन गर्दा पर्यटन विकासमा अझ टेवा पुग्ने संस्थाको अपेक्षा छ ।
-सनस्टार साप्ताहिकबाट