रोल्पाको त्रिवेणीमा नेकपा ओली पक्षको प्रशिक्षण, निर्वाचनमा जुट्न नेताहरुकाे आग्रह

२५पुस, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद घर्तीले पार्टी एकता गर्दाको ४ बुदे सहमतिलाई लत्याएर प्रचण्ड र माधव नेपाल अल्पमत र बहुमतको खेलमा लाग्दा नेकपामा अहिलेको परिस्थिति निम्तिएको बताएका छन्।

नेकपा त्रिवेणी गाउँपालिका कमिटीले शनिबार रोल्पाको जुगारमा आयोजनामा गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता घर्तीले यस्तो बताएका हुन्।

एकताको बेला महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीभित्रको हरेक एजेण्डा तथा समस्यालाई दुई अध्यक्षबीच सहमति अनिवार्य भएको नेता घर्तीले जनाएका छन्। तर, एकल हस्ताक्षर सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थुप्रै आरोपहरु लगाएर अभियोग पत्र बैठकमा पेश गरिएपछि पार्टीभित्र गम्भीर समस्याहरु सिर्जना भएको उनले आरोप लगाए लगाए।

कार्यक्रम बोल्दै नेकपा केन्द्रीय सदस्यहरु कुमार दसौदी, शान्तकुमार वली, बालाराम बुढाले पार्टीभित्र चौतर्फी घेराबन्दीका साथै पार्टीकै सांसदबाट अबिश्वासको प्रस्ताव दर्ता गरेर सरकार ढाल्न खोजेपछि बाध्य भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद विघटन गरि ताजा जनादेशमा जाने निर्णय गरेको बताएका छन्।
त्यस्तै नेकपा केन्द्रिय सदस्य ईश्वरी जिएमले रोल्पालीहरु एक भएर आगामी वैशाख १७ र २७ गते निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा त्रिवेणी गाउँपालिका अध्यक्ष निमप्रसाद रोकाको अध्यक्षता र गाउँपालिका सदस्य चन्द्र बहादुर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा, नेपाली कांग्रेस परित्याग गर्दै तुलाकुमारी घर्ती, दल बहादुर घर्ती, सिउप्रसाद खत्री, मोहन केसी, उदिराम खत्री, गैसरी खत्री, खिमलाल पुन, खलिसरा पुन, देवा पुन डण्डिराज पुन, जानकी घर्ती नकपामा प्रवेश गरेका छन् ।

यसैगरी नेपाली कांग्रेस निकट नेविसंघ परित्याग गर्दै अञ्जु घर्ती र प्रज्वल डाँगी, नेत्रविक्रम चन्द्र (विप्लप) नेतृत्वको नेकपा परित्याग गर्दै नेत्रबहादुर महरा, काङ्ग्रेस निकट तरुण दल परित्याग गर्दै दिपक केसी, जनक डाँगी, लक्ष्मण घर्ती, रोवर नेपाली नेकपामा प्रवेश गरेको बताइएको छ ।

कार्यक्रम अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य अमृत बुढा, नेकपा रोल्पा जिल्ला कमिटीका सदस्यहरु गोपाल डाँगी, भुपालसिङ डाँगी लगायतले बोलेका थिए।

कार्यक्रममा जनगायक माधव घर्तीमगरले जनवादी गीतमार्फत ताजा जनादेशको पक्षमा एकजुट हुन आह्वान गरेका छन्।  उक्त कार्यक्रमको सञ्चालन पार्टी जिल्ला कमिटी सदस्य तथा युवा नेता ठाकुरप्रसाद वलीले गरेका थिए।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस