२८ पुस, रोल्पा ।
रोल्पाको परिवर्तन गाउँपालिकामा लुम्बिनी प्रदेशस्तरीय भलिबल रेफ्री तालिम हुने भएको छ । आज (मंगलबार)बाट हुने तालिममा नेपाल भलिबल संघका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले प्रशिक्षण दिने बताइएको छ ।
जिल्ला भलिबल संघ, रोल्पाको आयोजना तथा परिवर्तन गाउँपालिकाको आर्थिक सहयोगमा साताव्यापी तालिमको आयोजना गरिएको जिल्ला भलिबल संघ रोल्पाका अध्यक्ष हिमाल डिसीले जानकारी दिनुभयो । तालिममा रोल्पाबाट १२ जना र प्रदेशभरका अन्य जिल्लाबाट २÷२ जनाले प्रशिक्षणमा सहभागिता जनाउने छन् ।
सोमबार अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवा नेतृत्वको प्रशिक्षक टोलीलाई रोल्पाको लिबाङमा स्वागत गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा गरिएको स्वागत कार्यक्रममा बोल्दै प्रशिक्षक गौतमप्रसाद लासिवाले रोल्पाले यस किसिमको तालिमको आयोजना गरेर भलिबल खेलप्रति देखाएको मायाले आफू निकै खुसी भएको बताउनुभयो । एक हप्ताभरि आफूले धेरै भन्दा धेरै सीप सिकाउने र प्रशिक्षणलाई फलदायी बनाउने बताउनुभयो । ‘मैले आफूले सिकेका सबै टेक्निकहरु सिकाउन चाहन्छु’ लासिवाले भन्नुभयो, ‘अहिलेका नयाँ टेक्निकहरु पनि सिकाउँछु, तपाईहरुले धेरैभन्दा धेरै फाइदा लिनुहुनेछ भन्ने विश्वास छ ।’ उहाँले गाउँगाउँमा रेफ्री हुनुपर्ने अभियानलाई सफल बनाउन र भलिबल खेलको विकासमा योगदान दिन सबैसँग आग्रह समेत गर्नुभयो ।
जिल्ला भलिबल संघ, रोल्पाका अध्यक्ष हिमाल डिसीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा भलिबल संघका केन्द्रीय सदस्य किशोर कुमार आचार्य लगायतका अतिथिहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सदस्य बसन्त थापाले गर्नुभएको थियो ।