छिमेकीको घरबाटै गायब ठाकुरको ६ महिना पछि कंकाल फेला

४माघ,रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४१ वर्षका ठाकुर नेपालीको ६ महिना पछि कंकाल फेला परेको छ । गत असार २३ गते छिमेकी लोकेन्द्र खड्काको घरबाट गाएब भएका नेपालीको कंकाल यहि माघ २ गते त्रिवेणी गाउँपालिका–६ स्यालागाउँ नजिकैको जंगलमा फेला परेको हो ।

जंगलमा मान्छेको कंकाल फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि आइतवार इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक जिवराज थापाको नतृत्वमा टोली घटना स्थल पुगेको थियो ।

कंकाल भेटिएको ठाउँमा ठाकुरले लगाएको कपडा, मोबाइल र टर्च लाइट भेटिएकाले उक्त कंकाल ठाकुरकै रहेको ठाकुरकी श्रीमति हिमा नेपालीले बताइन ।

हिमाकै सनाखतका आधारमा मुचुल्का तयार पारी परिक्षणका लागि त्रि.वि. शिक्षण अस्पताल काठमाण्डौं पठाइएको इप्रका होलेरीका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यस्तो थियो घटना

ठाकुर नेपाली गत असार २३ गते बेलुकी छिमेकी लोकेन्द्र खड्काको घरमा रक्सी लिन गए । बेलुकी गएका ठाकुर अर्काे दिनसम्म पनि नफर्कीए पछि उनको खोजतलास सुरु भयो ।

सुरुमा कतै गएका होलान आई हाल्छन कि भन्ने भयो परिवारले पनि वास्ता गरेन । तर ५ दिनसम्म पनि ठाकुर घर नफर्किए पनि परिवारले असार २८ गते प्रहरी चौकी जुँगारमा खबर गरे । तर प्रहरीले पनि उनको न लाश न सास कुनै भेट्न सकेन ।

ठाकुर नभेटिएपछि प्रहरीले छिमेकी लोकेन्द्र खड्का र उनका पत्नी गौमाया घर्ती खड्कालाई पक्राउ गरी अनुसन्धान थाल्यो । आरोपित लोकेन्द्र खड्काले आपसी विबादका कारण ठाकुरको हत्या गरेको स्वीकार पनि गरे, तर लोकेन्द्रले शव गाडेको भनेको ठाउँमा मृतकको शव भने फेला परेन् ।

लोकेन्द्रले पहिरोमा लगेर शव गाडेको भनेपछि प्रहरी र स्थानीयले उक्त पहिरोमा शव खोज्यो तर भेटिएन । आरोपितले भनेको ठाउँमा तालिम प्राप्त कुकुरसहित खोजविन गर्दापनि शव फेला परेन् ।

आरोपित लोकेन्द्र खड्का माओवादी पूर्व जनमुक्ती सेना हुन् । खड्का दम्पति विरुद्ध प्रहरीले व्यक्ति वेपत्ता पारेको कसुरमा मुद्दा दर्ता ग¥यो ।
रोल्पा जिल्ला अदालतको साउन २९ गतेको आदेशमा लोकेन्द्रलाई पुर्पक्षका लागी कारागार पठाइएको थियो भने लोकेन्द्रकी श्रीमती गौमाया ७५ हजार धरौटिमा छुटेकी थिइन् ।

पीडित परिवारले सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगमा पनि निवेदन दिएका छन् ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस