सम्पादकीय :

मौलाउँदो भ्रष्टाचार विरुद्ध जुटौं

दुई महिना अघि जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रमुख नगद घुस सहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परे । यसले जिल्लामा तरंग नै पैदा भयो । केही वर्षअघि घरेलु तथा साना उद्योग कार्यालयका एक कर्मचारी बुटवलबाट नगद घुससहित अख्तियारकै नियन्त्रणमा परेका थिए । भवन डिभिजन कार्यालयका लेखा शाखाका एक कर्मचारी पनि कार्यालयबाट नै घुस सहित समातिएका थिए । लुंग्रीमाडी सिंचाई करिडोरका एक कर्मचारी पनि घुस सहित पक्राउ परेका थिए । यि रोल्पा जिल्लामा भ्रष्टाचार गर्दैगर्दा पक्राउ परेका केही दृष्टान्त हुन् ।

बिडम्बना नै भन्नुपर्छ रोल्पा जिल्लामा विभिन्न कार्यालयमा आएका कर्मचारी यहाँबाट सरुवा भएर अन्यत्र जिल्ला गएलगत्तै घुस सहित अख्तियारको फन्दामा परेका छन् । कतिपय जनताले घुस मागेपछि रामधुलाई गरेका थुप्रै समाचार आएका छन् । ति कर्मचारी रोल्पा वस्दा पक्कै भ्रष्टाचारको गन्ध पैmलिएकै हुन्थ्यो । तर, यहाँ हुँदा अख्तियारको नियन्त्रणसम्म गएका थिएनन् । अन्यत्र जिल्ला जाँदा वित्तिकै नियन्त्रणमा पर्दै आएका हुन् । यसले रोल्पालीमाथि केही प्रश्न पक्कै उब्जाएको छ । यहाँ हुँदा भ्रष्ट चरित्रमाथि नागरिक, कारवाही गर्ने निकाय र सरोकारवाला निकायले केही गर्न नसकेको भन्ने भएको छ । यहाँ हुँदा भ्रष्टाचार नगरेका होईनन्, त्यहीँ भ्रष्ट प्रवृत्ति अन्यत्र जिल्लामा गर्दा त्यहाँका सचेत नागरिकले खबरदारी गर्दै सचेत पहल लिएपछि उनीहरु अख्तियारको नियन्त्रणसम्म पुगेका हुन् ।

रोल्पा जिल्लाका केही घटना र यहाँ कार्यरत रही अन्यत्र जिल्लामा पक्राउ परेका भ्रष्टाचारका घटनालाई हेर्दा भ्रष्टाचार मौलाउँदो छ भन्ने पुष्टि हुन्छ । गाउँगाउँमा सिंहदरबार पुगेपछि भ्रष्टाचार गाउँगाउँ र टोलटोलमा पुगेको नागरिकस्तरमा चर्चा हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो वर्षमा रोल्पा जिल्लाबाट थुप्रै उजुरी पर्नुले भ्रष्टाचार बढेको छ भन्ने देखाउँछ । अझ बिडम्बना भ्रष्टाचार जुनरुपमा चुलिदै गएको छ, त्यो रुपमा उजुरी र कारवाही हुन सकिरहेको छैन । नागरिकले भ्रष्टाचार विरुद्ध अझै सचेत कदम उठाउन नसकिरहेको अवस्था छ । यहाँ सचेत कर्मचारी, राजनीतिज्ञ, शक्तिमा भएकाहरुबाट नै भ्रष्टाचार हुने गरेको छ । सामान्य नागरिकको पहुँच कानून कार्यन्वय गर्ने निकायसम्म नहुनु र अख्तियारवाला निकायपनि मौन बसिदिदा यहाँ भ्रष्टाचार फस्टाउँदो पेशा झैँ भैरहेको छ ।

केही महिनाअघि माडी गाउँपालिकामा भ्रष्टाचारमा जनप्रनिधि र कर्मचारी मुछिएको भन्दै विज्ञप्तीवाजी र संघर्षका काम पनि भए । अनौपचारिक रुपमा भएको कुराकानीमा भ्रष्टाचार हुने गरेको र त्यसको ट्रेन्डरबारे छलफल भएको भन्नेबाट उठान भएको भ्रष्टाचारको विषय निकै चर्कियो । तर, ठोस आधारप्रमाण विना त्यो विषय ‘बाँदरको पुच्छर न लौरो न हतियार’ जस्तै भयो । न त समाउन सकिने अवस्था रह्यो न त कारवाहीको दायरामा ल्याउन सकिने अवस्था रह्यो । भ्रष्टाचार हुने तर भ्रष्टहरुको न सिङ न पुच्छर केहीपनि समाउन नसकिने अवस्था छ अहिले । कारण, उनै धामी उनै बोक्सी भएको अवस्था छ । नेपालको कर्मचारीतन्त्र भ्रष्ट हुँदै गएको राजनीतिज्ञ आरोप लाउँछन्, राजनीतिज्ञ नै भ्रष्ट बन्दै गएको कर्मचारीको आरोप । जनताको नजरमा यि दुवै क्षेत्रको मिलिभगतमा भ्रष्टाचार मौलाउँदो छ ।

भ्रष्टाचारको केसमा यि दुवै क्षेत्र एकले अर्काको स्वार्थ पुरा नभएकोवेला आरोपप्रत्यारोपमा उत्रिन्छन्, स्वार्थ मिलेकोवेला एकले अर्कालाई कानूनद्वारा चोख्याउँछन् । रोल्पाबाटै रंगेहात अखित्यारले पक्राउ गरेका घटनापनि सामसुम भएका छन् । सफाई पाएका छन् । यसले लाज पनि लजाएको स्थिती छ । रंगेहात पक्रिएका केसमा पनि सजायको भागिदार नहुनु, कसुर नठहरिनु कम्ता हाँस उठ्दो विषय होईनन् । यस्तो हुनुमा सबै क्षेत्रमा लेनदेनको कमाल रहेको पुष्टि हुन्छ । नेपाल त्यसै भ्रष्टाचार हुने मुलुकमा १०८ औं स्थानमा परेको होईन । अब अबेला भयो । ढिला नगरी भ्रष्टाचारी विरुद्ध जुटौं ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस