माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएपछि सदा झैँ पत्रपत्रिका र सार्वजनिक सञ्चार माध्यममा मुख्य समाचार बने । तर, विगत वर्षमा जति चर्चा हुन्थ्यो यसपालि मूलधारका सञ्चारमाध्यममा उतिसाह्रो चर्चा भएन । तैपनि सामाजिक सञ्जाल र चिया पसलमा एकाध हप्ता चर्चा भइरह्यो । तर, सम्बन्धित निकायहरूबाट औपचारिक रुपमा सार्थक बहस, चर्चा र परिचर्चा भएन । गतवर्षको तुलनामा नतिजामा सुधार आएपछि प्रायः सबै खुशी भएको भाव देखियो । कतिपय पालिका र विद्यालयले उत्कृष्ट नतिजा लिएका र उत्तीर्ण विद्यार्थीलाई पुरस्कृत गरे । बधाईका कार्यक्रम गरे । यो सह्रानीय रह्यो । तर, कतिपय पालिका र विद्यालयले औपचारिक रुपमा कार्यक्रम गरेनन् । मूलत हरेक विद्यालय, पालिका, शिक्षा विकास तथा समन्वय इकाई र सरोकारवाला निकायबाट एसईई नतिजाको सूक्ष्म अध्ययन सहित व्यापक छलफल र नतिजामा थप सुधारका योजना बनाइनु आवश्यक थियो र छ पनि । तर, यसो हुन सकिरहेको छैन ।
२०८१ को एसईईमा रोल्पामा ५०.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । गत वर्ष १९.३६ प्रतिशतमा सीमित रोल्पाले यसवर्ष फड्को मारेकै मान्न सकिन्छ । गतवर्षको तुलनामा पछिल्लो शैक्षिक वर्ष ३०.९१ प्रतिशत बढी उत्तीर्ण भए । गतवर्षको भन्दा डेढ गुणा बढी उत्तीर्ण भए । गतवर्ष ९३ स्कुलबाट परीक्षामा विद्यार्थी सामेल भएका थिए । जसमा ८ विद्यालयको नतिजा शून्य भएको थियो । यसवर्ष ९४ विद्यालय सामेल भएका मध्ये २ विद्यालयको मात्र नतिजा शून्य आयो ।
रोल्पाबाट २०८१ मा ३ हजार ५ सय ४४ विद्यार्थी परीक्षामा सामेल मध्ये उत्तीर्ण १ हजार ७ सय ८५ भए । जबकी गत वर्ष ३ हजार ७ सय ४१ विद्यार्थी मध्ये ७ सय ७६ मात्र उत्तीर्ण भएका थिए । यि त सतहमा आएका तथ्याङ्क मात्र हुन् । जति विद्यार्थी उत्तीर्ण भए तिनीहरूको नतिजा हरेक विषयमा कस्तो रह्यो । त्यसको तथ्याङ्क सहित सूक्ष्म विश्लेषण गर्न आवश्यक हुन्छ । कुन कुन विषयमा कमजोर जिपिए आएकाले हाम्रा विद्यार्थीको सोचे जस्तो जिपिए आएन । त्यसमा सुधारको रणनीति बनाउनु पर्ने हुन्छ ।
देशभरको नतिजामा गणित विषयमा बढी एनजी परेका विद्यार्थी रहेको तथ्य सार्वजनिक भयो । त्यसैगरी विज्ञान, अंग्रेजी, सामाजिक विषय कै कारण थुप्रै विद्यार्थी उत्तीर्ण हुनबाट बञ्चित भए ।
रोल्पामा पनि गणित विषय लागेकै कारण उत्तीर्ण नभएका विद्यार्थीको संख्या कति हो ? यसको तथ्याङ्क सहित व्यापक बहस जरुरी छ । त्यसैगरी विज्ञान मात्र विषय लागेर कति उत्तीर्ण भएनन्, अङ्ग्रेजी विषय लागेर कति एनजी भए ? र, सामाजिक विषयकै कारण मात्र कति उत्तीर्ण भएनन् । यिनको तथ्यांक सहित सूक्ष्म विश्लेषण सहितको बहस, छलफल र अन्तरक्रिया गरी भावी रणनीति बनाउन सकियो भने मात्रपनि अहिलेको तुलनामा नतिजा निकै सुधार हुनेवाला छ । गतवर्षको तुलनामा शैक्षिक सुधार हुनुमा हामीले के कस्ता त्यस्ता सुधारका काम गरेकाले नतिजा राम्रो आयो भन्ने कुराको पनि समीक्षा जरुरी हुन्छ । के कस्तो सचेत पहल गरियो कि नतिजामा सुधार आयो ? यदि सचेत पहलकै कारण सुधार आएको हो भने ति असल अभ्यासलाई चालु शैक्षिक सत्रमा पनि निरन्तरता मात्र होईन अझ विस्तार गर्नु पर्छ ।
आगामी वर्ष थप नतिजा सुधारका लागि अन्यन्त्र जिल्लामा केही रचनात्मक वहस र छलफल भएका छन् । रोल्पा जिल्लामा खासै हुन सकेको अवस्था छैन । रोल्पामा सत्प्रयास समूहबाट केही प्रयास भयो । तर, सम्बन्धित निकायबाटै यस्ता कामको थालनी हुन आवश्य हुन्छ । एसईईको नजिता सार्वजनिक हुँदा मात्र होईन, विद्यालयले संचालन गर्ने सबैजसो परीक्षाको नतिजा सार्वजनिक भएपछि नतिजाको तथ्यामा टेकेर व्यापक छलफल सहित नतिजा सुधारको थप रणनीति अख्तियार गर्नु आवश्यक हुन्छ ।


