
देशभरका ७ सय ५३ पालिका विभिन्न सूचकमा बेलाबेला ‘यति उति स्तरमा परे’ भनेर चर्चा हुने गर्छ । कहिले उत्कृष्ट कार्य गरेकाहरूको सूची सार्वजनिक हुन्छ त कहिले बेरुजु सहितको खराब सूचक सार्वजनिक हुन्छ । त्यसपछि जिल्ला र पालिका स्तरमा पक्ष र विपक्षमा गाली र प्रशंसाको जुहारी चल्छ । वास्तवमा संघीयतापछि जनताको घर नजिकको सरकारका रुपमा स्थानीय तह पुगेका छन् । केही पालिकाले यति राम्रो र लोभ लाग्दो काम पनि गरिरहेका छन् ।
संघीयता र जनताको मर्म पनि यहीँ नै हो । जनताको सुख दुःखको सहारा पालिका सरकार बनून् भन्ने चाहना जनताको छ । हुनु स्वभाविक पनि हो । यसका लागि उत्कृष्ट कार्य गर्ने पालिका, त्यहाँका जनप्रतिनिधि र कर्मचारी धन्यवादका पात्र अवश्य हुन् । तर, विडम्बनाको कुरा बेरुजु र भ्रष्टाचारको दलदलमा फसेका पालिका बग्रेल्ती छन् । जनअपेक्षा पक्कै यो होइन ।
रोल्पा जिल्ला अहिलेको व्यवस्था परिवर्तन ल्याउन गरिएको भनिएको विद्रोहको आधार केन्द्र हो । यहीँबाट तत्कालीन विद्रोही माओवादीले सशस्त्र युद्ध थालनी गरेको थियो । सशस्त्र युद्ध र जनआन्दोलनले मुलुक संघीयतामा गएको हो ।
अव देशभरका पालिका सरकारले गम्भिर भएर सोच्नु पर्ने वेला आएको छ । संघ र प्रदेश सरकार अछुटो छन् भन्न खोजिएको होइन । यहाँ पालिका सरकारकोमा चर्चा केन्द्रित मात्र गर्न खोजिएको हो । किनकी, पालिका सरकार छाम्दा र देख्दा भेटिने सरकार हुन् । यि सरकारले जनजिविका र जनताको घाउमा मलम लगाउने गरी काम गर्नुपर्छ । जनप्रतिनिधिहरूले स्थानीय जनताको भावना बुझेर पालिका सरकार चलाउने भएकाले जनभावना सम्बोधन हुने अपेक्षा गरिन्छ । तर, सोचे जस्तो पालिका सरकारका काम हुन सकिरहेका छैनन् । अन्य जिल्लाका पालिकाका कुरा उनैलाई छाडौँ ।
रोल्पा जिल्लाका एक नगरपालिका र नौवटा गाउँपालिका सरकारले गरिरहेका काम र गर्नु पर्ने कार्यक्रम पक्कै सह्रानीय र नमूना योग्य हुनै पर्छ । अहिलेसम्म जे जस्ता कोसिस भएका छन् तिनको समीक्षा जरुरी भैसकेको छ । सात वर्ष पार गरिएको पालिका सरकारको भूमिकाले जनजीवनमा कत्तिको तात्त्विक फेरबदल ल्यायो त ? समीक्षा जरुरी छ ।
रोल्पा जिल्ला अहिलेको व्यवस्था परिवर्तन ल्याउन गरिएको भनिएको विद्रोहको आधार केन्द्र हो । यहीँबाट तत्कालीन विद्रोही माओवादीले सशस्त्र युद्ध थालनी गरेको थियो । सशस्त्र युद्ध र जनआन्दोलनले मुलुक संघीयतामा गएको हो । आज देशभरबाट रोल्पाका पालिकाले गरिरहेको कामबाट प्रेरणा लिइरहेको हुनुपर्ने हो । यहाँका पालिका सरकार नै हरेक सूचकांकमा उत्कृष्ट भैरहेको हुनुपर्ने हो । यहाँका पालिकाले युवालाई स्वरोजगार बनाईरहेको हुनुपर्ने हो ।
सुशासन यहीँका पालिकाबाट सिक्न लायक हुनुपर्ने हो । भ्रष्टाचारमुक्त पालिका यसरी चलाउन सकिन्छ भन्ने नमूना प्रस्तुत गर्न सक्नु पर्ने हो । बालबिबाह यसरी अन्त्य गर्न सकिन्छ र सकियो भन्ने नमूना अन्य जिल्लाका पालिका सरकारलाई सन्देश दिन सक्नुपर्ने हो । जुवातासा, मदिरामुक्त, सदाचार, सामाजि न्याय, छुवाछूत, जातिय विभेद अन्त्य यसरी गर्न सकिन्छ र सकियो भन्ने फरमान जारी गर्न सक्नुपर्ने हो । जनताका बारी यसरी सिंचाई गर्न सकिन्छ भन्न सक्नुपर्ने हो । किसानले उत्पादन गरेका वस्तु र उपजको बजारीकरण गर्न सक्नुपर्ने हो । यावत सवालमा पालिकाले उत्कृष्टता देखाउन सक्नुपर्ने हो । तर, यस्तो हुन सकिरहेको छैन । औसत पालिकाकै धर्रामा काम भैरहेको छ ।
वास्तवमा विगतको विद्रोहको केन्द्र रोल्पा हुनु र यहाँका अधिकांश पालिका माओवादीबाट उम्मेदवार वनेकाहरु जनप्रतिनिधि हुनुको नाताले अझ उत्कृष्ट नमूना योग्य पालिका बन्न सक्नु पर्दथ्यो । देशभर माओवादीले जितेका पालिकाका जनप्रतिनिधिले रोल्पाली माओवादीले जितेका पालिकाबाट सिक्न सक्ने गरी काम हुनु पर्ने हो । तर, यसो हुन सकिरहेको छैन । उल्टो वेरुजु र अनियमितता, भ्रष्टाचार, अपारदर्शिताको प्रश्नमा यहाँका दशवटा पालिका अछुटो हुन सकेका छैनन् । अव, नयाँ ढंगले सोचौं र काम गरौं अनि देशभरमै यहाँका दशवटै पालिका नमूना बनाऔं ।