डोकोबाटै घरघरमा तरकारी डेलिभरी

१५माघ,रोल्पा । लुंग्री गाउँपालिका वडा नंं १ पाङका ६७ वर्षिय रणबहादुर बिष्ट आफैले उत्पादन गरेको तरकारी डोकामा राखेर दिनहुँ छिमेकी एंवम गाउँलेको घर दैलोमा पु¥याउछन् । उनका छिमेकी र नजिकका गाउँलेहरु अचेल तरकारी किन्न सुलिचौर झर्नुपर्दैन ।

सयौं रुपैयाँ गाडी भाडा तिरेर तरकारी किन्न सुलिचौर झर्नु पर्ने बाध्यताबाट मुक्ती पाएका उनीहरु आफ्नै गाउँमा उत्पादन हुने ताजा र स्वच्छ तरकारी खान पाएर दंग छन् ।

रोजगारीका लागि लामो समय जिल्ला बाहिर बसेका रणबहादुरलाई बुढ्यौलीले च्यापेसँगै घरमै बसेर स्वरोजर हुने सोच आयो । घरमै बसेर आय आर्जन गर्ने विकल्प खोज्दै जाँदा उनको रुचीमा तरकारी खेती प¥यो । उनले तरकारी खेती सुरुवात त गरे बजारकोे चिन्ता समेत सँग—सँगै थपियो ।

शुरु वर्ष थोरै जग्गामा मात्रै तरकारी खेती गरेका उनले उत्पादीत तरकारी डोकोमा बोकेर छिमेकीका घर—घर पुगे । रणबहादुर दिनहुँ ताजा तरकारी र तराजु डोकामा बोकेर आफ्नै घर आगनमा आउन थालेपछि छिमेकीले समेत सहजता महसुस गर्न थाले ।

घरमै ताजा तरकारी आउन थालेपछि तरकारी लिन सुलिचौर जाने बाध्यता ट¥यो स्थानीय अनिषा पुनले भनिन । कहिलेकाही गाह्रोसाह्रो पर्दा २÷४ दिनका लागि उधारो पनि मिल्ने भएकाले थप सहजता भयो अनिषाले भनिन ।

सिजनमा २ लाखको तरकारी विक्री गर्ने गरेको रणबहादुर बताउँ छन् । पहिले—पहिले जाँै गहुँ लगाएर दुखेसो पनि उठ्दैनथ्यो अहिले त्यही बारीमा २ लाख कमाई हुन्छ, रणबहादुरले भने । तरकारी खेतीले उनको जीविको पार्जनमा टेवा पुगेको छ । लत्ता कपडा, खाद्यन्न, नुन तेल र चरीमासुको लागि साहुसँग ऋण गर्नुपरेको छैन रणबहादुरले भने ।

उनले तरकारी खेती गर्दा तालिमको अवसर समेत नपाएको बताउछन । तरकारी खेती गरेकाहरुसँग सिकेरै खेती गरेको हुँ रणबहादुर भन्छन । अहिले तरकारीका लागि चाहिने कम्पोष्ट मल, झोलमल र विषादी समेत आफै तयार गर्दछन उनी ।
उनको लगनशीलता देखेर लुंग्री गाउँपालिकाले एउटा र हुरेक नामक गैर सरकारी संस्थाले एउटा गरि २ वटा टनेल निर्माणमा सहयोग गरेका छन् ।

गाउँपालिका र हुरेक संस्थाले अघिल्लो वर्ष ४० हजार र यस वर्ष २५ हजार रुपैयाँ सहयोग गरेका थिए त्यो सहयोग रकम प्रविधि विकासमा खर्च गरेको छु रणबहादुरले भने ।

अहिले उनले कृती कृषि फर्म नामक फर्म समेत दर्ता गरेका छन् । २ छोरी २ छोराका पिता रणबहादुरका एक छोरा बाग्लुङमा श्रमिक काम गर्छन । अरुको श्रमिक हुने हैन घर आएर आफ्नै फर्मको मालिक हुने हो भनेर छोरालाई समेत बोलाएको छु रणबहादुरले भने । छोरीहरुको विवाह भईसकेको छ । अहिले उनलाई श्रीमतीले सघाउँदै आएकी छन् ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस