इलाका प्रशासन कार्यालय घर्तीगाउँले पाएन अधिकृत

२०माघ, रोल्पा । तत्कालिन माओवादी सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउदै २०५६ फागुन ६ गते विस्थापित भएका घर्तीगाउँका इलाका कार्यालयहरु हाल पुनःस्थापना भइसकेका छन् ।

सबैजसो इलाका कार्यालयहरु पुनःस्थापना भएपनि कर्मचारी अभावकै कारण सेवाग्राहीहरुले नियमित सेवा पाउन भने मुस्कील छ ।

नापी, मालपोत र प्रहरी कार्यालयमा कार्यालय प्रमुख नभएपनि सेवा प्रवाहमा खास्सै असर पर्दैन, तर इलाका प्रशासन कार्यालयमा भने नागरिकता जारी गर्नका लागि अधिकृत नै चाहिने भएकाले बेला बेलामा प्रशासनको काम नै ठप्प हुने गरेको छ ।

इलाका प्रशासन पुनःस्थापना भएयता कार्यालयमा ३ जना अधिकृत आए तर उनीहरु धेरै समय बसेनन् । उनीहरु हतार हतारमा मालदार कार्यालय खोज्दै सरुवा गर्दा कार्यालयमा ६ महिनासम्म सेवा ठप्प हुने गरेको स्थापना देखि नै कार्यरत नायब सुब्बा गणबहादुर विकको भनाई छ ।

मालदारमा मालामाल, इलाकामा फालाफाल

जिल्लाकै सुनछहरी गाउँपालिकामा २०७४ देखि निरन्तर रुपमा बीरबहादुर पुन प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन् । उनी त्यहाँ कार्यरत भएको ४ वर्ष भइसक्यो तर अझै उनको सरुवा हुने छाँटकाट देखिदैन् । तर २०७५ मा पुनःस्थापना भएको इलाका प्रशासन कार्यालय घर्तीगाउँमा भने अहिलेसम्म ४ जना प्रमुख फेरिएका छन् ।

कार्यालय स्थापनापछि राममणी काफ्ले, ऋषिराम सुवेदी र अनुप केसी अधिकृतका रुपमा आए भने कामु अधिकृतका रुपमा गणबहादुर विकले पनि ६ महिना कार्यकाल सकाएका हुन् । गत साउन १७ गते गृह मन्त्रालयले कामु अधिकृतको रुपमा उनै नासु विकलाई तोके पनि उनको ६ महिने अवधि पनि सोमवार सकिएको छ ।

उनको अवधि सकिएसँगै फेरी नागरिकता वितरणको काम रोकिएको छ । अधिकृतहरुले मालदार कार्यालय मात्रै खोज्ने भएकाले इलाकामा अधिकृतको अभाव भएको हो ।

कामु अधिकृतबाट २ हजार ४ सय नागरिकता जारी

इलाका प्रशासन कार्यालयमा अधिकृतको अभाव भएपनि सेवाग्राहीको भने कुनै अभाव छैन् । साविकको १४ गाविस हालको ३ वटा गाउँपालिकाका सेवाग्राहीले नागरिकता, प्रमाणिकरण लगायत विभिन्न सिफारिसका कामका लागि यस कार्यालयमा आउने गरेका छन् । पछिल्लो ६ महिनामा मात्रै कार्यालयबाट २ हजार ४ सय ६३ वटा नागरिकता र २ सयभन्दा धेरै प्रमाणिकरणको काम भएको नासु विकले बताए ।

फेरी कामु तोक्ने सिफारिस

जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त कार्यालयबाट नागरिकता जारी लगायतका कामलाई निरन्तरता दिन फेरी पनि उनै नासु विकलाई कामु तोक्ने गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

अधिकृत नआउने देखिएपछि गत हप्ता नै फेरी उहि नासुलाई कामु तोक्न सिफारिस भइसकेकाले केहि दिनमै सेवालाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

दीर्घकालिन समस्या समाधानको माग

द्वन्द्वको समयमा विस्थापित भएको इलाका प्रशासन कार्यालय १९ वर्ष पछि पुनःस्थापना भएपनि अधिकृतकै अभावमा बेला–बेला सेवा बन्द हुने समस्याको दीर्घकालिन समाधान हुनुपर्ने स्थानीयको माग छ ।

कार्यालय पुनःस्थापनाका लागि ठूलो संघर्ष गरेकोमा फेरी अधिकृत लिनलाई पनि संघर्ष नै गर्नु परिरहेको घर्तीगाउँ गाविसका पूर्व गाविस अध्यक्ष गोपाल घर्तीले बताए ।

‘पटक–पटक सर्वदलीय रुपमा डेलिगेशन गएर कार्यालय त ल्याइयो’ घर्तीले भने ‘तर फेरी अधिकृतको अभाव भएको छ ।’ यो समस्याको समाधानका लागि पनि सर्वदलीय रुपमा माग गर्ने क्रम जारी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस