नेपाल रेडक्रस सोसाइटी रोल्पाको ३३ औं साधारणसभा सम्पन्न

३० माघ, रोल्पा ।
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा रोल्पाको ३३ औं वार्षिक साधारणसभा लिबाङमा सम्पन्न भएको छ । शुक्रबार आयोजित साधारणसभाले वार्षिकरुपमा गरिएका गतिविधिहरुको समेत समीक्षा गरेको छ ।

वार्षिक साधारणसभाको उद्घाटनमा बोल्दै लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले आफ्नो उद्देश्यप्रति प्रतिवद्ध भएकै कारण रेडक्रस मानव सेवामा समर्पित छ भन्ने मानक स्थापित गरेको बताउनुभयो । रेडक्रस अहिलेसम्म कुनै राजनीतिक प्रभावमा नरही विशुद्ध मानवीय र सामाजिक सेवासँग सम्बद्ध भएकाले पनि यसको थप संस्थागत विकास र यसले गर्ने काम कार्वाहीमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोरोना महामारीको क्रममा कतिपयले रेडक्रसको चिन्ह दुरुपयोग गरेको भन्दै उहाँले त्यस्ता क्रियाकलाप रोक्न पनि रेडक्रसले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कर्मलाल परियारले अरुको दुःख पीडामा सहयोगी बन्नसक्ने मान्छे नै खास मान्छे भएको चर्चा गर्नुभयो । मानवीय सहयोग गर्नुपर्ने हरेक क्षेत्रमा रेडक्रसको अग्रसरता देखिएको उहाँको भनाइ छ । त्यस्तै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रेडक्रसले मानवीय सेवाको विविध क्षेत्रमा काम गर्दै आफ्नो कार्यसम्पादन दायरा फराकिलो बनाउँदै लगेको बताउनुभयो ।

साधारणसभाको अवसरमा पोबाङ उपशाखाको भवन निर्माणका लागि जग्गा दान गर्ने सुनबहादुर पुन र कालु पुनलाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती, नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर कुमार आचार्यले बोल्नुभएको थियो । आचार्यले आफ्नो छोरीको सम्झनामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको समेत घोषणा गर्नुभएको छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष दारासिंह डाँगी लगायतले बोल्नुभएको थियो । रेडक्रस रोल्पाका सभापति डी.बी. घर्तीमगरको अध्यक्षतामा आयोजित उद्घाटन शत्रको मन्त्री अमर जिएमले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस