कहिले मेटिएला ‘जनयुद्ध’का डोभहरु ?

तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोह अर्थात उनीहरुको भाषामा जनयुद्ध सुरु गरेको आज ठिक २७ वर्ष पूरा भएको छ । देशको शासन सत्ता बन्दुकको नालबाटै परिवर्तन गर्ने उद्देश्यका साथ २०५२ फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर उसले सशस्त्र द्वन्द्वको सुरु गरेको थियो ।

करिब १० वर्षसम्म गरेको सशस्त्र संघर्षबाट पनि उसले भनेजस्तो सत्ता हातमा आउन नसकेपछि शान्ति प्रक्रियामा जान माओवादी तयार भयो । फलस्वरुप देशमा जनआन्दोलन भई माओवादीको समेत सहयोगमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक व्यवस्था लागु भयो । त्यसपछि भएको पहिलो संविधानसभाको निर्वाचनबाट माओवादीले झण्डै बहुमत सहितको सरकार पनि बनायो ।

माओवादीका अध्यक्ष प्रचण्ड गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री पनि भए । यद्यपि उनले सशस्त्र विद्रोहका क्रममा देखेका र जनतालाई देखाएका सपना भने पूरा हुन सकेन् । अहिलेसम्म दुई पटक प्रचण्ड प्रधानमन्त्री भए पटक–पटक माओवादीसहितको गठबन्धनमा सरकार बने र अहिले पनि प्रदेश र केन्द्र सरकारमा माओवादी छ । तर उसले देखाएका सपना नपूरा भए, न हनुेवाला नै छन् । छन् त केबल कथित ‘जनयुद्ध’का डोभहरु मात्र । माओवादीले गरेको सशस्त्र द्वन्द्वबाट देशमा १७ हजारले अकालमा ज्यान गुमाए भने हज्जारौं अंगभंग, टुहरा भए ।

हजारौं बेसाहारा भए, हजारौंको सिउँदो पुछियो । उनीहरुको पीडा र अहिलेको अवस्था दर्दनाक छ । यो पीडा न कसैले भुलाएर भुल्न सकिन्छ न सरकारले सम्झन्छ । यति मात्र हैन ‘जनयुद्ध’का डोभहरु समाजमा यति गाडिएका छन कि त्यो कहिलै नमेटिने गरी ।

‘जनयुद्ध’कै कारण अंगभंग भएका र परिवारबाट दैनिक मानसिक तनावका कारण अहिले पनि कतिपयले आत्महत्या गर्न बाध्य छन् । माओवादीले देखाएको सपनामा भुलेर आफ्नो जिन्दगी नै बर्बाद बनाएकाहरु अहिले पनि अलपत्र अवस्थामा छन् । त्यो सपना न कहिलै पूरा हुन्छ, न माओवादीले उनीहरुको संरक्षण गर्न सक्छ ।

यस्तै रोल्पामा ‘जनयुद्ध’कै अर्काे उपज बनेको छ गौ हत्या प्रकरण । माओवादीले ‘जनयुद्ध’कालमा गाई काटेर खान सिकायो, त्यसबेला उनीहरुले कुनै कारबाही हुदैन्, हाम्रो सत्ता आए गाई काटेर खाने व्यवस्था मिलाउछौं भने । तर दुर्भाग्य अहिले यहि कारण सोँझासाझा रोल्पालीहरु वर्षेनी जेल जानुपरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङ्क हेर्ने हो भने ‘जनयुद्ध’ पछि सयौं मान्छेहरु गाई काटेकै भरमा जेल जानु परेको छ भने कतिपयले लाखौं धेरौटी बुझाएर निक्लेपनि मुद्धा भने खेपीरहनु परेको छ । यि र यस्ता ‘जनयुद्ध’का डोभहरु कहिले मेटिएला ?

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस