१फागुन, रोल्पा । तत्कालिन माओवादीले सुरु गरेको १० वर्षे ‘जनयुद्ध’को उद्गम स्थल हो रोल्पाको होलेरी ।

२०५२ फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरी माओवादीले ‘जनयुद्ध’ सुरु गरेको थियो । यहिँ होलेरीबाट सुरु भई देशमा १० वर्षसम्म चलेको ‘जनयुद्ध’बाट नै माओवादी पार्टी उदय भएको हो । त्यहिँ रापतापमा माओवादीले २०६५ यता देशको शासन सत्तामा पटक–पटक हालीमुहाली गर्न पाइरहेको छ । त्यो कहिले आफैले नेतृत्व गरेर होस् वा कहिले गठबन्धन गरेर ।

अहिले त झन आधार इलाकामा पर्ने प्रदेश सरकारको नेतृत्व पनि माओवादीले नै गरिहरको छ । तर विडम्वना नै भन्नुपर्छ त्यहिँ माओवादीलाई उदय गराउने उद्गम स्थल होलेरी भने सधै उपेक्षामा परिरह्यो ।

‘जनयुद्ध’ कालमा माओवादीकै कारण कुनैपनि विकास निर्माणका काम हुन नसकेको हालेरीमा पछिल्लो समय पनि माओवादीकै कारण विकास भन्दा विनास भएको नेपाली काँग्रेस रुन्टिगढीका सभापति जनक पुनको भनाई छ । ‘पहिलो कुरा रोल्पाको दक्षिणी भेगमा केन्द्रसम्म पहँुच राख्ने माओवादीका नेता भएनन्’ सभापति पुनले भने ‘त्यहिँ भएर पनि होलेरी क्षेत्र उपेक्षामा प¥यो ।’

दोस्रो कुरा माओवादी नेताकै कारण हालेरी क्षेत्रको विभिन्न खानीहरु अवैध उत्खननको सिकार बनेको पुनको आरोप छ । ‘विकास निर्माणको काम त केहि पनि देखिदैनन्’ पुनले भने ‘बरु यहाँका खानीजति सबै उनीहरुकै पहलमा दर्ता भएका छन् रे ।’

माडीचौरमा विकास होलेरीमा विनास्

‘जनयुद्ध’को उद्गम स्थल हालेरीमा न राम्रो खानेपानीको सुविधा छ, न स्वास्थ्य, शिक्षा र सडकको व्यवस्था छ । युद्ध स्मारक समेत स्थानीय सरकारले बनाएको छ भने शंकर पोख्रेल मुख्यमन्त्री हुँदा परेको पहाडी हिल स्टेशन बनाउने प्रदेश सरकारको योजना बाहेक होलेरीमा प्रदेश र केन्द्र सरकारको अन्य कुनै योजना नभएको रुन्टिगढी गाउँपालिकाका जनप्रतिनिधिहरुको भनाई छ । तर माओवादी नेता वर्षमान पुन र ओनसरी घर्तीको गाउँ माडीचौरमा भने धान्नै नसकिने विकासे योजनाहरु रहेका छन् ।

एकीकृत बस्ती विकास, कृषि क्याम्पस, जलविद्युत सम्भाव्यताको सम्पर्क कार्यालय, खेलकूद मैदान, खेलकूद मैदानलाई आधा ढाक्नेगरी माडीखोलामा पुल, लिबाङ–माडीचौर हुदै दार्बाेट जोड्ने सडक यि त ठूला योजना मात्र हुन् । सानातिना योजना त के कति आउँछन–जान्छन् माडीचौरका जनतालाई समेत थाहा छैन् ।

स्थानीय सरकारमा एमाले आउँला झन उपेक्षा

१० वटा स्थानीय सरकार रहेको रोल्पामा ७ वटामा मात्र माओवादीको सरकार रहेको छ । जस मध्ये दक्षिणी भेगमा पर्ने रुन्टिगढी र त्रिवेणीमा एमालेको सरकार रहेकाले पनि यस क्षेत्रमा माओवादी नेताहरुले केन्द्रबाट बजेट हाल्न नचाहने गरेको स्थानीय सरकारका प्रमुखहरुको गुनासो छ ।

शहिद मार्ग बाहेक अन्य कुनै ठूला योजना केन्द्रबाट यस क्षेत्रमा नपरेको रुन्टिगढी गाउँपालिका अध्यक्ष बालालाम बुढाले बताए । ‘यही क्षेत्रको योगदानबाट नेता बनेपछि यहाँ ठूला–ठूला योजना आउनुपर्ने हो’ बुढाले भने ‘तर राजनीतिक पूर्वाग्रहका कारण हामीले नियमित आउने योजना समेत नपाइरहेको अवस्था छ, यो दुखद विषय हो ।’

वर्षमान उर्जामन्त्री हुँदा त्रिवेणीमा परेन विस्तारको योजना

वर्षमान पुन उर्जा मन्त्री हुँदा उज्यालो रोल्पा अभियानको सुरुआत नै गरेर जिल्लाभर विद्युत विस्तारको योजना बनाए । तर त्रिवेणी गाउँपालिकामा बजेट नपरेपछि त्रिवेणीले छुट्टै त्रिवेणी उज्यालो कार्यक्रम सञ्चालन गर्नु परेको थियो । हाल जिल्लाभर नै उज्यालो रोल्पा अन्तर्गतको काम भइरहेको भएपनि त्रिवेणी गाउँपालिकाले भने स्थानीय सरकारकै बजेटबाट त्रिवेणी उज्लायो कार्यक्रम सञ्चालन गरिहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए ।

‘वर्षमान पुन उर्जामन्त्री हुँदा नै हामीले त्रिवेणी बाहेकको उज्यालो रोल्पा भन्नुस भनेका थियौं’ अध्यक्ष वलीले भने ‘उहाँहरु सरकारमा हँुदा हामी सधै उपेक्षामा नै पर्ने गरेका छौं ।’