आइटिएफ तेक्वान्दोको राष्ट्रिय प्रशिक्षण सम्पन्न

०८ फागुन, रोल्पा ।
रोल्पा आइटिएफ तेक्वान्दो संघले दुईदिने राष्ट्रिय प्रशिक्षक तथा टेक्निकल सेमिनार सम्पन्न गरेको छ । शनिबार रोल्पा सदरमुकाम लिबाङमा आयोजित सेमिनारको लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले उद्घाटन गरे । सेमिनारमा बोल्दै सांसद पुनले मुलुकको राजनीति बिग्रिँदै गएको अवस्थामा खेल क्षेत्रले मानिसको भावनालाई जोड्ने काम गरेको बताए । राष्ट्रिय प्रशिक्षक तालिमको आयोजना गरेर रोल्पाको गरिमालाई झन् माथि उठाएको भन्दै उनले खेलाडीको प्रशंसा गरे । राज्यले खेल क्षेत्रलाई त्यति महत्व दिन नसकेको स्वीकार गर्दै सांसद पुनले समृद्ध मुलुक निर्माणका लागि सबै क्षेत्रको हातेमालो अनिवार्य रहेको तर्क गरे । राष्ट्रियस्तरको कार्यक्रम गरेर खेल क्षेत्रलाई नयाँ जीवन दिएको भन्दै जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढाले खेलाडीको लक्ष्य मुलुकलाई चिनाउने हुनुपर्ने बताए ।

खेलाडीको उल्लेख्य सहभागिता
शुक्रबार र शनिबार आयोजित तालिम तथा सेमिनारमा रोल्पाका विभिन्न आइटिएफ समूहका साथै देशभरबाट प्रशिक्षक प्रशिक्षणका लागि सहभागी भएको संघका रोल्पा अध्यक्ष विक्रम बाँठामगरले बताए । ‘करिब दुईसय ५० को संख्यामा खेलाडीको उपस्थिति छ’ अध्यक्ष बाँठाले भने, ‘आइटिएफ तेक्वान्दोको विकासमा सहयोग पुगोस् भनेर नै तालिम तथा सेमिनारको आयोजना गरेका हौं ।’ तालिममा देशभरबाट खेलाडीको उत्साहपूर्ण सहभागिता रहेको उनको भनाइ छ । खेलकुदको विकासका साथै रोल्पाको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याउने आयोजकको अपेक्षा छ । दुईदिनसम्म जारी प्रशिक्षणमा आइटिएफ राष्ट्रिय बल्याक बेल्ट कमिटीका अध्यक्ष घमबहादुर थापाले सहजीकरण गरेका थिए ।

आइटिएफ रोल्पा उदाहरणीय
आइटिएफ तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले रोल्पा शाखाले आइटिएफ तेक्वान्दोको क्षेत्रमा देशमै उदाहरणीय कार्य गरेको बताए । प्रदेशस्तरको कार्यक्रम गरिसकेको संघले कोेरोना त्रासका बीच पनि भर्चुअल प्रतियोगिता, भर्चुअल गोष्ठी गरेर नमुना योग्य काम गरेको भन्दै प्रशंसा गरे । कोरोनाले सबैभन्दा धेरै खेल क्षेत्र धारासायी भएको भन्दै उनले अन्य जिल्लाको तुलनामा रोल्पामा खेलमैत्री स्थानीय तह भएको बताए । खेल क्षेत्रको विकासका लागि स्थानीय तहहरुले अझै लगानी बढाउनुपर्नेमा उनको जोड छ ।

खेलकुदमा लगानी गर्छौंः स्थानीय तह
सेमिनारमा सहभागी स्थानीय तहका प्रमुखहरुले खेलकुदमा लगानी बढाउने बताएका छन् । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले खेल क्षेत्रलेको विकासका लागि आफूहरुले विभिन्न काम गर्दै आएको बताए । त्यस्तै परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले पनि खेलकुदमा लगानी बढाउने बताए । ‘खेलकुदका विभिन्न विधामा हामीले लगानी गर्दै आएका छौं’ अध्यक्ष डाँगीले भने, ‘गाउँपालिकाले आफ्नै खेलकुद कार्यक्रम पनि गर्दै आएको छ, यसमा अझै लगानी गर्ने सोचेका छौं ।’ गंगादेव गाउँपालिका अध्यक्ष बीरबहादुर खत्री र थबाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तीले पनि खेलकुद क्षेत्रको विकासका लागि आफूहरु सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस