
रोल्पाको सदरमुकाम लिबाङको टुँडिखेल फागुन १० गतेदेखि भलिबल खेलमय बनिरहेको छ । राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिताले तातिएको छ टुँडिखेल । फागुन १४ गतेसम्म यहाँको रौनक भलिबल खेलको हुनेछ । जिल्लामा पहिलो पटक सर्वाधिक पुरस्कार राशि सहितको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताले बेग्लै उत्साह भरेको छ । सन–स्टार युवा क्लबको आयोजनामा पाँच लाख पुरस्कार राशीको ‘सन–स्टार कप–२०८१’ सञ्चालन हुनुले रोल्पाको चर्चा खेल जगतमा बेग्लै छ । क्लबको १३ वार्षिकोत्सवको अवसरमा दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको शनिबार भव्य समारोहबीच उद्घाटन भयो । पूर्व सभामुख कृष्णबहादुर महराले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका सन–स्टार क्लबका अध्यक्ष पुरण केसीले ‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ राष्ट्रियस्तरको भलिबल प्रतियोगिताको आयोजना गरिएको जनाए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चार प्रादेशिक र आयोजक सहित सात टीम भिड्दैछन् । कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रादेशिक टीम सहभागी रहेका छन् । ११ टीम सहभागी हुने भनिएपनि सात टीम भिड्दैछन् । प्रतियोगितामा पहिलो हुनेले पाँच लाख राशीको पुरस्कार सहित सन–स्टार कप जित्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख पचास हजार र एक लाख नगद प्राप्त गर्नेछन् । सान्त्वना स्वरुप एक टिमले ५० हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर लगायतलाई पनि नगदसहित पुरस्कृत गरिनेछ । जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता समेत भइरहेको छ ।
जिल्लामै यति ठूलो राशीको प्रतियोगिता पहिलो नै हो । विगतमा विद्रोही राजनीतिक छवि बनाएको रोल्पामा बेलाबेला साहित्यिक र खेलकुदका भव्य कार्यक्रमले बेग्लै सन्देश दिने प्रयास गरिरहेको छ । यस प्रतियोगितामा सशस्त्र प्रहरी क्लब, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रादेशिक टीम सहभागी हुन सकेनन् । यि टिमको समेत उपस्थिति रहेको भए अझ बेग्लै सन्देश जाने थियो । खैर, जति टीम सहभागी भएका छन्, तिनको सहभागिताले पनि देशभर एउटा बेग्लै सन्देश गइरहेको छ । रोल्पामा यो स्तरको प्रतियोगिता सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण त छ नै, त्यसमाथि अवसर समेत छ । यस्ता प्रतियोगिताले जिल्लाको पहिचान र सकारात्मक सन्देश देशविदेशसम्म पुग्छ । उद्घाटन सत्रको भव्य कार्यक्रमले पक्कै यहाँ आएका खेलाडीमा सकारात्मक प्रभाव परेकै हुनुपर्छ । यहाँ खेल खेलेर फर्कँदै गर्दा रोल्पाबाट लिएर जाने सन्देश अझ महत्वपूर्ण हुन्छ । सुखद पक्ष सेलीव्रेटी बनिरहेका राष्ट्रियस्तरका भलिबल खेलाडीले रोल्पा बसाई, घुमघाम, खेल प्रतियोगिता सम्बन्धी भिडियो फुटेज र स्टाटस आ–आफ्नो सामाजिक संजाल (फेसवुक, टिकटक, ट्विटर, इन्सटाग्राम) मा राखिरहेका छन् । हजारौं भ्यूज पनि गइरहेको देखिन्छ । यसले रोल्पालाई थप प्रसारप्रचार गराइरहेको छ । यसले रोल्पाको विगतको विद्रोही परिचयलाई वदल्दै लैजान्छ नै । यसले खेल पर्यटन मात्र होईन, रोल्पा जिल्ला घुम्न आउने अर्को लालसा थपिदिन्छ । उसो त रोल्पा जिल्लाका खेलाडी र खेलप्रेमीलाई राष्ट्रियस्तरको प्रतियोगिताले थप हौसला र प्रेरणा मिल्ने नै छ ।
कुनैपनि ठाउँको चर्चा, पहिचान र विकासलाई टेवा दिनका लागि यस्ता गतिविधिको खाँचो पर्दछ । उद्योग, कलकारखाना, ठूल्ठूला व्यपारव्यवसाय समेत नभएको रोल्पा जिल्लामा यो स्तरको प्रतियोगिता संचालनार्थ खर्च जुटाउन निकै कठिन छ । तैपनि सबै निकाय र व्यक्तिको सहयोगबाट प्रतियोगिता आयोजना हुनु सह्रानिय नै छ । देशभरबाट आएका खेलाडी र खेलसँग सम्बद्ध सबैपक्षको जिल्ला बसाई भव्य र यादगार बनाउन आयोजक र रोल्पाका सबै सरोकारवाला संवेदनशिल हुनु जरुरी हुन्छ । यहाँको संस्कार, खानपान, आतिथ्यताबारे विशेष ध्यान दिनुपर्छ । प्रतियोगितामा जितहार हुनु स्वभाविक हुन्छ नै । प्रतियोगी ७ टीम मध्ये एउटा टिमले बाजी मार्ला । तर, रोल्पा आएका सबै खेलाडी र पाहुनाले यहाँको बसाईबाट मिठो सन्देश र प्रेम बोकेर जाने कुराले रोल्पाले विजय हासिल गरेको मानिनेछ । तसर्थ, खेललाई भव्य बनाऔं, सभ्य बनाऔं र आगन्तुक सबै खेलाडीको सेवा र सत्कारमा कुनै कसर बाँकी नराखौं ।