अस्पताल भवन निर्माणमा तदारुकता देखाउ

२०७७ असोजमै निर्माण सम्पन्न हुनुपर्ने रोल्पा अस्पतालको भवन हालसम्म पनि बन्न सकेको छैन् । भवन अभावकै कारण अस्पतालले आफ्नो स्तरबृद्धिमा पनि समस्या खेप्दै आएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारले पटक–पटक उन्मुक्ति पाउनु दुःखद मात्रै नभई लज्जास्पद् विषय बनेको छ । अस्पताल भवन निर्माणको विषयमा जिल्लाका सरोकारवालाले कुरा उठाउने गरेको भएपनि यसको सुनुवाई भने हुन सकेको छैन् । सञ्चार माध्यममा पनि यो विषय विगतदेखि नै आइरहेको छ, तर न भवन बन्छ, न त ठेकेदारलाई कारबाही नै हुन्छ ।

छिमेकी जिल्ला दाङका प्रमुख जिल्ला अधिकारीले सडक, पुल, भवन निर्माण नगर्ने ठेकेदारलाई २४ घण्टा भित्र हाजिर गराएको समाचार हामीले पनि सुन्ने र हेर्ने गरेकै हो । यद्यपि रोल्पाका प्रमुख जिल्ला अधिकारीलाई त्यस्तो काम गर्न कहिलै जागर चलेन वा जागर चलाउने वातावरण बनेन् । भवन अलपत्र बनेको वर्षाै बित्यो यो समयमा जिल्लाले २÷३ वटा प्रमुख जिल्ला अधिकारी पायो तर कसैबाट पनि यसको निकास पाउन सकेन् । जिल्लाकै मुख्यमन्त्रीले पनि प्रदेशको राजधानी भालुबाङमा भवन नबनाउने ठेकेदारलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो, तर आफ्नै जिल्लाको अस्पताल भवन नबनाउने ठेकेदारलाई कहिलै थर्काएनन् बरु यस विषयमा बोल्न पनि आनाकानी गरेको पाइयो ।

गत हप्ता अस्पतालमा विषेशज्ञ शिविर तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले अस्पताल भवनको विषयमा प्रमुख जिल्ला अधिकारीको थाप्लोमा हाल्दै आफू बोलेमा नीति बन्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा ताकेता गर्न आग्रह गरे । यसरीले सम्बन्धित निकायले बेवास्ता गर्दा अस्पताल भवन लामो समयदेखि अलपत्र बन्दै आएको छ । अस्पताल भवन अलपत्र हुँदा जिल्लावासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । यस विषयमा तदारुकता देखाउने निकाय कहिलेसम्म कानमा तेल हालेर बस्छ त्यो भने कसैलाई थाहा छैन् ।

लामो समयसम्म भवन नबन्नु र सम्बन्धित निकाय पनि मौन बस्नु संयोग मात्र हैन यसमा केहि न केहि मिलेमतो छ भनेर संका गर्ने समय आएन र ? त्यसैले अब पनि सम्बन्धित निकाय पनि मौन बस्ने र सरोकारवाला पनि चुप लाग्ने हो भने यसले समग्र स्वास्थ्य सेवामा त प्रभाव पारेकै छ त्यसमा पनि जिल्लाको भ्रष्टाचार, अनियमिता र दण्डहिनतालाई पनि प्रसय दिने कुरामा कुनै दुई मत नहोला कि !

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस