रेडक्रसको घर्तीगाउँ उपशाखा भवन निर्माण

२५ फागुन, रोल्पा । नेपाल रेडक्रस सोसाइटीले रोल्पाको घर्तीगाउँमा रहेको रेडक्रस उपशाखा भवनको उद्घाटन गरेको छ । माडी गाउँपालिकाको वडा नं. २ घर्तीगाउँमा माडी गाउँपालिकाले विनियोजन गरेको १६ लाख रकमको लागतमा भवन निर्माण भएको हो । भवन निर्माणपछि कार्यालय व्यवस्थापनका लागि फिनिस रेडक्रस अन्तर्गत एकीकृत सामुदायिक उत्थानशील परियोजनाबाट कार्यालय व्यवस्थापनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्चिएको परियोजना अधिकृत कमला राईले बताइन् ।

रेडक्रसको अन्य गतिविधि गर्नका लागि र संस्थागत विकासका लागि पनि भवन अनिवार्य रहेको सन्दर्भमा गाउँपालिकाले आर्थिक सहयोग गरेर ठूलो गुण लगाएको नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.बी. घर्तीमगरले बताए। उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका सदस्य मानबहादुर केसीले मानवीय सेवाको सारथिको रुपमा रहेको रेडक्रसले विविध क्षेत्रमा काम गर्दै आफ्नो संस्थागत विकासलाई अघि बढाएको बताए।

रेडक्रस भवन निर्माणपछि संस्थागत विकासमा टेवा पुग्ने र विपदको समयमा उद्धार र आवश्यक राहत समेत समयमै पु¥याउन सकिने रेडक्रस घर्तीगाउँ उपशाखाका सभापति मानबहादुर घर्तीमगरले बताए । भवन अभावमा धेरै कामहरु अस्तव्यस्त हुने गरेको भन्दै उनले भवन निर्माण भएपछि धेरै कुरा व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई तथा उद्यमशील कामहरुमा समेत ठूलो बजेट खर्चिंदै आएको रेडक्रसको भवन निर्माणका लागि स्थानीय सरकारले पनि साझेदारी गरेको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताए । २०६५ सालमा स्थापना गरिएको घर्तीगाउँ उपशाखाका लागि स्थानीय इन्द्रबहादुर घर्तीमगरले जग्गा दान गरेका थिए । करिब ७२ वर्गमिटर रहेको जग्गामा दुईकोठा र शौचालयसहितको पक्की भवन निर्माण गरिएको हो ।

उपशाखा सभापति मानबहादुर घर्तीको अध्यक्षतामा आयोजित भवन उद्घाटन कार्यक्रममा रेडक्रस रोल्पाका सभापति डी.बी. घर्तीमगरले रिबन काटेर उद्घाटन गरेका थिए । उपशाखा सचिव यज्ञबहादुर डाँगीको सञ्चालन रहेको कार्यक्रममा जिसस रोल्पाका सदस्य मानबहादुर केसी, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.बी. घर्तीमगर, निवर्तमान सभापति नौलसिंह पुन, वडाअध्यक्ष भरतबहादुर बुढा लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस