धनुषामा अवैध सालका काठसहित एक जना पक्राउ

३चैत्र, जनकपुर । धनुषाको मिथिला नगरपालिका ५ विश्रामपुरबाट अवैध सालको काठसहित एक जना काठ कारोबारी पक्राउ परेका छन्।

विश्रामपुरस्थित गोपाल मगरको आँगनबाट २१ थान सालको गोलियासहित काठ कारोबारी महोत्तरीको बर्दिबास ७ बस्ने किसन कुमार ठाकुरलाई सव डिभिजन वन कार्यालय पुष्पवलपुरले सोमबार राति १२ बजे पक्राउ गरेको हो।

नजिकैको जङ्गलबाट अवैध रुपमा कटान गरेर गाउँमा जम्मा गरिएको सालको काठ अन्यत्र लैजान तयारी गरिरहेका बेला सुराकीको आधारमा खटिएको वन कर्मचारी र औरही बाबा सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुको संयुक्त टोलीले विश्रामपुरस्थित मगरको आँगनबाट सो काठ बरामद गरेको वन कर्मचारीले जानकारी दिए।

वन रक्षक रामदेव यादवकाअनुसार काठ तस्करीमा संलग्न मगर र नाम खुल्न नसकेको एक जना भागे भने महोत्तरीको काठ कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको बताए।

उनले नियन्त्रणमा लिइएको काठ कारोबारी ठाकुरलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा बुझाइएको छ भने बरामद काठ औरही बाबा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोरी महतोको जिम्मा राखिएको जनाए। विएल नेपाली सेवा

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस