४चैत्र,राेल्पा । थबाङ जसरी पनि चिन्न सकिन्छ। सत्तालाई धक्का दिने एउटा गाउँ। १० वर्षे लामो शसस्त्र युद्धको उदगम थलो। चुनावमा शुन्य मत परिणाम दिने भुगोल।

थबाङका केहि अनौठा विषेशताहरु छन्, जसले थबाङलाई ‘थबाङ’ बनाईराखेको छ। थबाङको एउटा मज्जाको विषेशता के छ भने, थबाङसम्म कच्ची मोटरबाटो त पुगेको छ। तर, थबाङको भित्री गाउँमा भने चार पाङ्ग्रे सवारी साधन चलाउन दिदैनन्, थबाङीहरु। प्रायः गाउँ-गाउँमा मोटर बाटो पुर्याउने सवाल उठ्छ, तर थबाङ भित्रभने  सवारी साधन चलाउन पाईदैन।

यसरी भित्री गाउँमा सवारी साधन चल्न नदिनुको कारण हो- थबाङको पहिचानलाई जिवन्त राखेको ढुङ्गे गल्लीहरु। थबाङको भित्री गाउँहरुमा ढुङ्गा मात्र बिछ्याईएका गल्लीहरु छन्। जसले थबाङलाई कुनै शहरका कालोपत्रे गरिएका सडकहरु भन्दा कम देखाउदैन। ती गल्लीहरुमा बिछ्याईएका ढुङ्गाहरु खलबलिन्छन् भनेरै भित्री गाउँहरुमा सवारी साधन चलाउन नदिएको स्थानीय तिर्थ नारायण निजार उर्फ ‘कमरेड. ऋ’ले बताए।

त्यस्तै अर्को विषेशता भनेको थवाङमा बसोबास गर्दे आएका मान्छेहरु ‘नाम’ हो। थवाङमा मगर सामुदायको बसोबास छ। तर, प्रायः थवाङीहरुको नाम कम्युनिष्ट खालका छन्। थवाङीहरुको वास्तवीक नाम थाहा पाउन, कि त उनीहको नागरिकता हेर्नुपर्छ। कि त कुनै परिचय पत्र नै। कारण हो, उनीहरुले गाउँमा एकले अर्कोलाई बोलाउदा गर्ने ‘कमरेड’को सम्बोधन।

सदरमुकाम लिबाङबाट २८ कोष टाढा पर्ने थवाङमा ११ सय भन्दा वढि घरधुरी रहेका छन्। थवाङ सम्म पुग्नलाई रोल्पाका पश्चिमी भेगमा पर्ने रेउघा, घर्तीगाउँ, दुईखोली, खरीबोट र मिरुलको भुगोल पार गर्नुपर्छ। त्यस्तै, रोल्पाको पुर्वी भेगको बाटो सुलिचौर हुँदैपनि जान सकिन्छ। थबाङमा मगर सामुदायको बाहुल्यता रहेको छ।

घरहरु ढुङ्गा, माटो र काठका फल्याकले बनेका छन्। पछिल्लो समयमा आधुनिकताको प्रभाव परेसँगै केहि सामुदायीक भवनहरु छड र सिमेन्टले बनाईएका छन्।

गाउँमा आधुनिकता भित्रिएसँगै गाउँमा घर बनाउदा प्रयोग गरिएका ढुङ्गा, माटो र काठका फल्याकले दिने सौन्दर्यता क्रमश घट्दै गएको स्थानीय राज कुमार रोका उर्फ ‘कमरेड. हाङ’ले बताए।

अधिकाशं थबाङीहरु कृषिमै निर्भर रहेका छन्। परापुर्वकाल देखिनै थबाङीहरु कृषिमै निर्भर रहदै आएको र पछिल्लो समय केहि युवाहरु विदेशिने गरेका छन्। कतिपय युवाहरु गाउँमै जडिबुटि खेतीमा लागेका छन्।

थबाङमा दक्षिण एसियामै पहिलो पटक त्रिभुवन विश्व विद्यालय, काठमान्डौ र अजम्बरी जन कृषि सहकारीको सयुंक्त पहलमा ‘ट्रफिल’को परिक्षण गरिएको थियो। ‘ट्रफिल’ नामक बिरुवाको परिक्षण गरेसँगै थवाङीहरु झनै यसको खेतीमा आकर्षित भएका छन्। अहिले थबाङमा ‘ट्रफिल’ लगाएत अन्य विभिन्न जडिवुटिहरु उत्पादन हुदै आएको स्थानीय युवा अमित रोका मगरले बताए। थवाङको हावापानी चिसो भएकाले आलु र स्याउको राम्रो खेती हुदै आएको छ।