फूलैफूलको पहाड: ‘गामा’ अर्थात ‘जलजला’ (तस्वीरसहित)

९चैत्र, राेल्पा ।  ‘फूलैफूलको पहाड’ भन्दा मानिसलाई पत्याउन गाह्रै पर्ला। तर यसलाई नकार्नपनि सकिदैन।

‘जलजला’ पहाडको नाम जत्तिको चर्चामा छ, त्यो तुलनामा सवंद्र्धन र विकास हुन सकेको छैन। जसलाई ‘फूलैफूलको पहाड’ पनि भन्ने गरिन्छ।

रोल्पाको ५० प्रतिशत सौन्दर्यता जलजला पहाडले बोकेको पाईन्छ। थबाङ गाउँपालिकामा पर्ने ‘जलजला’ पहाडको विशेषता भनेको त्यहाँ फुल्ने रंगीबिरंगी फूलहरु हुन्। एक अध्ययनबाट ‘जलजला’ पहाडमा सरदर ३ हजार भन्दा वढि प्रजातीका फूलहरु फुल्ने गरेको पाईएको छ। जसले गर्दा ‘जलजला’ पहाडको भुगोलनै फूलहरुको सुवासले मगमगाउँछ। यस्तोपनि कथन छ की, ‘यस क्षेत्रमा फुल्ने विभिन्न फूलहरुको अत्याधिक वासनाको नशा लागेर आगन्तुकहरु बेहोस हुन्छन्।’

पर्यटन विकासको राम्रो सम्भावना बोकेको ‘जलजला’ पहाडलाई व्यवस्थित गर्न नसक्दा अझै सम्म कच्ची मोटर बाटोसमेत पुर्याउन सकिएको छैन। जसले गर्दा आन्तरीक तथा बाह्य पर्यटकहरुले सास्ती व्यहोर्दै आएका छन्।

‘जलजला’ पहाड रोल्पाको मिरुल, धवाङ, जेल्वाङ, सेरम र उवा लगायतका भुगोलसगँ जोडिएको छ। ‘जलजला’को प्राचिन नाम ‘गामा’ हो। मगर खाम भाषामा ‘गामा’ भनेको ‘अग्लो लेकको बुटी’ भन्ने हुन्छ। यो समूद्री सतहदेखि ३१७२ मिटरको उचाईमा रहेको छ।

यहाँको घाँसे मैदान, वर्षातको समयमा पानी जमेर बन्ने दलदलले जो कोहीलाई पनि आकर्षण गर्छ। ‘जलजला’बाट सिस्ने, पुथा, धौलागीरी, निलगीरी, अन्नपुर्ण, माछापुच्छे, लमजुङ लगायतका विभिन्न आकर्षक हिमालहरु देख्न सकिन्छ। यस क्षेत्रमा पाइने थार, घोरल, झारल, मृग, बदेल, भालु, चितुवा, बाघ, कस्तुरी, डाँफे, मुनाल, फक्रांस, कालिज लगायतका विभिन्न पंछी तथा वन्यजन्तुहरुले झनै पहाडको पहिचान फराकिलो बनाएका छन्।

त्यस्तै, यस क्षेत्रमा पाँचऔले, विषमा, अतिस, कुठ, सतुवा, निरमसि, पाखनवेद, सुगन्धवाला, चिराईतो लगाएतका जडिबुटीहरुपनि पाईन्छ। मान्छेहरु वर्षेनी हजारौको सख्यांमा दुर्लभ मानिने यस्ता विभिन्न जडिबुटीहरु खोज्न जाने गर्दछन्।

समुद्री सतहबाट ३२६६ मिटर उचाईमा अवस्थीत धरमपानी चुचुरा जलजला क्षेत्रको सर्वाधिक अग्लो चुचुरो हो। जहाँ, माओवादी जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा ५ कुने सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । यस चुचूरोबाट सुर्योदयको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।

‘जलजजला’ पहाड भाद्र देखी चैत्रसम्म प्राकृतिक फूलबारीमा रुपान्तरण हुन्छ। हिजोआज यस क्षेत्रमा ढकमक्क गुँरासहरु फुलेका छन्। यस क्षेत्रमा मुख्य त सेतो गुँरास र रातो गुँरास फुलेको पाईन्छ। साथै गन्धव, हाङ्व, रथविरथ, पातव, पिन्जोरिव, धस्कीनी, जिलाब लगायतले ‘जलजला’को सौन्दर्यता बढाएका छन्।

यसरी विभिन्न विशेषता बोकेको ‘जलजला’ पहाडलाई सरंक्षण र प्रवद्र्धन गर्नसके राष्ट्रिय सम्पदाको रुपमै स्थापित गर्न सकिने सरोकारवालाहरुको भनाई छ। ‘जलजला’सम्म कच्ची मोटरबाटो पुर्याउन सके यस क्षेत्रको विकासले फड्को मार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस