भेरिडाँडामा ‘डबल लिफ्टिङ’बाट खानेपानी

१२ चैत, रोल्पा ।
रोल्पाको परिवर्तन गाउँपालिका–४ पाछाबाङका स्थानीयबासीका लागि अब खानेपानी पुग्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी, परिवर्तन गाउँपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय समुदायको साझेदारीमा खानेपानी बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । भेरीलाग्ने जरेनी तथा तातापानी खानेपानी सोलार पम्पिङ आयोजना मार्फत् निर्माण भइरहेको खानेपानी निर्माणपछि एक विद्यालयसहित तातापानी र जरेनी गाउँका ९६ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव चन्द्रबहादुर मल्लले बताए ।

नेपाल रेडक्रस सोसाइटीको ७४ लाख ५० हजार, परिवर्तन गाउँपालिकाको २५ लाख, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १५ लाख र समुदायको ३४ लाख ५० हजार गरी १ करोड ४९ लाखको लागतमा निर्माण भइरहेको खानेपानीको ‘डबल लिफ्टिङ’ गरिएको छ । मुहानबाट १३ सय ५२ मिटर उचाईमा लगिएको लिफ्टिङका लागि ३०, १२ र १४ घनमिटरको ट्याङ्की राखिएको छ ।

खानेपानी बन्ने भएपछि स्थानीय खुसी
खानेपानी अभावका कारण प्रताडित समुदायका लागि घरघरमै खानेपानी पुग्ने भएपछि आफूहरुलाई निकै खुसी लागेको जरेनीका स्थानीय मिनाकुमारी विष्टले बताइन् । ‘अहिलेसम्म मान्छे, गाइबस्तु, चर्पी सबैका लागि टाढाबाट पानी बोकेर ल्याउने गरेका छौं’ विष्टले भनिन्, ‘रेडक्रसले घरघरमै पानी ल्याउन लागेकोमा खुसी लागेको छ ।’ यसअघि खानेपानी अभावका कारण गाइबस्तु समेत मरेको बताउँदै उपभोक्ता समितिका सचिव चन्द्रबहादुर मल्लले अब भने त्यो समस्या दूर हुने विश्वास व्यक्त गरे । सडक सञ्जालबाट समेत टाढा रहेका यी गाउँहरुमा स्थानीय उपभोक्ताले करिब दुई घण्टाको बाटो कुङ्रीबाट सामान ढुवानी गरेका थिए । केही सामान घोडा खच्चरको सहायताले ढुवानी गरेको र धेरै सामान भने घोडा खच्चरले बोक्ने अवस्था नभएकाले उपभोक्ताले बोकेर पु¥याएको सचिव चन्द्रबहादु मल्लले बताए ।

रेडक्रसले गुन लगायोः गाउँपालिका
खानेपानी अभाव रहेको तातापानी जरेनीको खानेपानी आयोजनामा रेडक्रसले लगानी गरेर गाउँपालिकालाई समेत गुन लगाएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले बताए । ‘हामीले धेरै क्षेत्र हेर्दाहेर्दै पनि यहाँको खानेपानीलाई प्राथमिकता दिन सकेका थिएनौं’ अध्यक्ष डाँगीले भने, ‘अहिले रेडक्रसले यति ठूलो लगानी गरेर हामीलाई ठूलो गुन लगाएको छ, यसमा गाउँपालिका आभारी छ ।’ बजेटको अपर्याप्तताका कारण चाहेर पनि धेरै प्राथमिकताका योजनाहरु अगाडि बढाउन नसकिएको अध्यक्ष डाँगीले बताए । स्वास्थ्य, सरसफाई, शिक्षा, उद्यमशीलता जस्ता क्षेत्रमा काम गर्दै आएको रेडक्रसले खानेपानीको क्षेत्रमा जिल्लामै ठूलो आयोजनाको रुपमा भेरिलाग्ने खानेपानीलाई अगाडि बढाएको रेडक्रस रोल्पाका सभापति डी.बी. घर्तीमगर बताउँछन् । यसभन्दा अलि साना योजनाहरु धेरै ठाउँमा सञ्चालन भएपनि भेरिलाग्ने खानेपानीलाई विशेष महत्वका साथ लगानी गरिएको उनको भनाइ छ । करिब एकमहिनामा निर्माण सम्पन्न हुने उक्त खानेपानी योजनाको कार्यप्रगति उत्कृष्ट रहेको योजना अनुगमनमा पुगेका रेडक्रस रोल्पाका निवर्तमान सभापति नौलसिंह पुनले बताए ।

ओहमा पनि बन्दै ‘लिफ्टिङ’ खानेपानी
परिवर्तन गाउँपालिका–६, ओहमा निर्माणाधिन खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । नेपाल रेडक्रस सोसाइटी, परिवर्तन गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा निर्माणाधिन लिफ्टिङ खानेपानी निर्माणको काम ९० प्रतिशत सकिएको सुकिदह सिमखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष अर्जुन बुढामगरले बताए ।

नेपाल रेडक्रस सोसाइटीको ३२ लाख ७० हजार, परिवर्तन गाउँपालिकाको १५ लाख, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १५ लाख र स्थानीय समुदायको १६ लाख ८० हजार बराबरको जनश्रमदान गरी ७९ लाख ५० हजारको लागतमा उक्त खानेपानी आयोजना निर्माण हुन थालेको हो । विकट गाउँ र छरिएर रहेका घरहरु भएकाले खानेपानी आयोजनाका लागि धेरै लगानी लागेको रेडक्रस रोल्पाका कार्यक्रम अधिकृत लक्ष्मण स्वर्णकारले बताए ।

स्थानीय समुदायले बाख्रा पालन, फलफूल खेती लगायत अन्य कृषि उपार्जनका लागि प्रयास गरेपनि पानी अभावका कारण समस्या पर्दै आएको बताएका छन् । लामो समयदेखि बाख्रा पालन गर्दै आउनुभएका ओहका स्थानीय नरबहादुर बुढाले पानीकै कारण बाख्रा पालनमा धेरै समस्या भोग्नुपरेको बताए । ‘पानी नभएपछि बाख्राका लागि घाँस उत्पादनदेखि बाख्रालाई खुवाउनमा समेत समस्या हुँदै आएको छ’ बुढाले भने, ‘मैले ७६ वटा बाख्रा पालेको छु, पानी नभएपछि बाख्रा पालन राम्रोसँग फस्टाउन सकेको छैन ।’ खानेपानी योजना सम्पन्न भएपछि भने व्यवसायिक बाख्रा पालनमा सहयोग पुग्ने उनको अपेक्षा छ ।

खानेपानी आयोजनाको शनिबार संयुक्त अनुगमन गरिएको छ । अनुगमनमा परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.बी. घर्तीमगर, निवर्तमान सभापति नौलसिंह पुन, टीका कुमारी बुढा, भिम बुढामगर, जिल्ला कार्यक्रम संयोजक लक्ष्मण स्वर्णकार, खिम वली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस