श्रीमतीले डबका नखा भन्छ
भट्टीवालीले लखा भन्छ
मैले पनि साथीलाई त खा भन्छु
साथीले पनि मलाई त खा भन्छ
अब आफै भन्नुस् म के गरु ?
फालौँ भने अन्नले
सराप्ला भन्ने लाग्छ
खाऊ भने श्रीमतीले आफैलाई
सराप्ला जस्तो लाग्छ
नखाऊ साथी रिसाउँछ
खाऊ श्रीमती रिसाउँछ
अब आफै भन्नुस् म के गरु ?
म ठूलो धर्मसङ्कटमा परेको छु
श्रीमतीले भनेको नमानौं
आफैले बिहे गरेको श्रीमती हो
साथीले भनेको नमानौं
सुखदुःखमा काम लाग्ने साथी हो
अब आफै भन्नुहोस् म के गरु ?
श्रीमतीले कि मलाई छोड
कि डबका छोड भनेको छ
न म श्रीमती छोड्न सक्छु
न डबका नै छोड्न सक्छु
अब आफै भन्नुस् म के गरु ?
मैले डबका छोडे
साथीले मेरो साथ छोड्छ
डबका नछोडे
श्रीमतीले मलाई छोड्छ
अब आफै भन्नुस् म के गरु ?
न म श्रीमतीबाट टाढा हुनसछु
न साथीहरूलाई गुमाउन,
अरुको चित्त बुझाउन
आफ्नो चित्त दुखाउनु परेकोछ
अब आफै भन्नुस् म के गरू ?
सिंगो मैन बत्ती
अरुको चित्त बुझाउन बलेको नाटक गर्छ
सिङ्गो मलाई अरुको चित्त बुझाउन
खाए नि नखाएको नाटक गर्नुपर्छ
आज मैले डबका खान्छु
भोलि डबकाले मलाई खान सक्छ
त्यो बेला न कसैले मलाई
नखा भन्ने छ
न कसैले खा भन्ने छ
त्यसपछि सदाको लागी
मैले डबका छोड्ने छु
डबकाले मलाई छोड्ने छ
मैले दुनियाँ छोड्नेछु
अनि दुनियाँले मलाई छोड्ने छ
त्यसैले आजैदेखि डबका छोड्ने
निर्णय गरेको छु
र डबका देखि सावधान रहौं ।।