२३चैत्र, रोल्पा। रोल्पामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन भएको छ ।

रोल्पा नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलाले सामुदायिक विद्यालय व्यवस्थापन महासंघ रोल्पा नगर तदर्थ समिति गठन गरेको हो ।

बालकल्याण नमूना माध्यमिक विद्यालय लिबाङको सभाहलमा बुधबार सम्पन्न भेलाले बालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका सदस्य जीतबहादुर डाँगीको संयोजकत्वमा १ सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

नवगठित समितिका सदस्यहरुमा लालवहादुर कँवर, गंगाराम घर्तीमगर, हरिजंग गुरुङ, वीरबहादुर घर्तीमगर, गंगा पुनमगर, मनबहादुर वस्नेत, चुडामणी केसी, नरबहादुर डाँगी र देवु बुढा रहेका छन् ।

भेलाले सदस्यता वितरण गर्ने, आगामी आषाढ पहिलो शनिबार प्रथम नगर अधिवेशन सम्पन्न गर्ने लगायतका निर्णय गरेको नवनिर्वाचित संयोजक जीतबहादुर डाँगीले जानकारी दिए । अधिवेशन पश्चात नगरभित्र महासंघका गतिविधि सक्रियताका साथ संचालन गर्ने डाँगीको भनाई थियो ।

जेष्ठ सदस्य जानसिंह घर्तीमगरको अध्यक्षतामा भएको भेलामा रोल्पा नगरपालिकाका वडा नंं ४ का वडा सदस्य हरिजंग गुरुङ ,चित्रबहादुर सेन र वडा नं. १० का वडा सदस्य ज्योतीलाल बुढाको आतिथ्यता रहेको थियो ।

भेलाको सहजीकरण बालकल्याण नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले गरेका थिए ।

जिल्लामै पहिलो पटक सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल रोल्पाका सम्पर्क व्यक्ति महेश न्यौपानेले जानकारी दिए । आगामी दिनमा क्रमशः अन्य स्थानीय तहमा समेत यो संरचना तयार गर्दै जाने न्यौपानको भनाई छ ।