वडामा लोकप्रिय काम गरेका क्षेत्रीलाई गाउँपालिका अध्यक्ष उम्मेदवार बनाउन सिफारिस

फाईल फोटो

७वैशाख, रोल्पा। जिल्लाको १० वटा स्थानीय तह मध्ये अघिल्लो निर्वाचनमा सुनिलस्मृति गाउँपालिका पनि काँग्रेसले माओवादीलाई कडा टक्कर दिएको थियो ।

गाउँपालिको ४ वडा जिताएर बलियो पकड जमाएको काँग्रेसले यस पटक गाउँपालिको अध्यक्ष जित्ने दावी गर्दै आएको छ । त्यसका लागि काँग्रेसले जिल्लाको ७२ वडा मध्ये सबैभन्दा लोकप्रिय काम गरेर चर्चा कमाएका सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गञ्ज क्षेत्रीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन नेपाली काँग्रेसले सिफारिस गरेको छ ।

नेपाली काँग्रेस सुनिलस्मृतिले क्षेत्रीसहित अन्य ६ जनाको पनि नाम पठाएको छ । गाउँपालिकाका सबै वडाबाट क्षेत्रीको नाम सिफारिस भएपनि अन्यले पनि आकांक्षा देखाएपछि ७ जनाको नाम सिफारिस गरेको नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिकाका सभापति मनबहादुर गिरीले बताए । क्षेत्रीसहित, बेगम बहादुर महरा, बालकृष्ण सुवेदी, बिष्णु सुवेदी, शेर बहादुर महरा, दामोदर सुवेदी र तिजा विष्टको नाम जिल्ला कार्यसमितिमा सिफारिस भएको छ ।

लोकप्रिय कामले क्षेत्रीको नाम

२०७४ को स्थानीय निर्वाचनमा फराकिलो मतान्तरका साथ वडाध्यक्षमा निर्वाचित क्षेत्रीले वडामा निःशुल्क विद्युत, एकल पुरुषलाई भत्ता, शिक्षण सिकाई कुना जस्ता लोकप्रिय काम गरेका थिए । त्यसैका कारण पनि हरेक गाउँबस्तीबाट क्षेत्रीलाई नै अबको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष बनाउन काँग्रेस कार्यकर्ताहरुले माग दरेको हुन् ।

गाउँपालिकाको सबै वडा समितिले क्षेत्रीको एकल नाम सिफारिस गरेका थिए । तर गाउँपालिका कार्यसमितिसम्म आइपुग्दा अन्यले पनि आकांक्षा देखाएका थिए । सुरुमा क्षेत्रीको मात्र चर्चा भएपनि गठबन्धनको आशमा अन्य धेरै आकांक्षी थपिएको बताइएको छ । गठबन्धन नहुने भएपछि क्षेत्रीनै उम्मेदवार बन्ने बलियो सम्भावना भएको वडा सभापतिहरुको भनाई छ ।

यि हुन क्षेत्रीका लोकप्रिय काम

सीमित क्षेत्राधिकार हुँदा पनि वडामा निःशुल्क बिद्युत, घर–घरमा विद्यार्थीहरुलाई पढ्ने वातावरण शृजना गर्न शिक्षण सिकाई कुना कार्यक्रम सञ्चालन, दलित, अपाङ्ग तथा असाहाय ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा, एकल पुरुषहरुलाई भत्ता जस्ता कार्यक्रम क्षेत्रीको कार्यकालमा भएका उदाहरणीय काम हुन् । यस्ता कार्यक्रम ल्याएकै कारण क्षेत्रीको लोकप्रियता चुलिएको हो ।

कोभिड १९ को महामारीमा पनि क्षेत्री संक्रमितहरुको घर घरमै स्वास्थ्य कर्मि लिएर पुग्ने गरेका थिए । स्वच्छ छबि, स्पष्ट वक्ता, शिक्षित सबै सीप भएकै कारण क्षेत्री आफैले गाडी चलाएर संक्रमितहरुलाई क्वारेन्टाइनसम्म लैजाने गरेका फोटोहरु पनि सामाजिक सञ्चालनमा भाइरल भएका थिए । सोही कारणले पनि क्षेत्रीलाई जनता सेवकको रुपमा हेर्ने गरिएको छ । माओवादीको तर्फबाट गाउँपालिका अध्यक्ष र कार्यपालिकामा बहुमत भएपनि उनीहरुसँग बौद्धिक बहस तथा मुकाबिला गर्नसक्ने क्षमताकै कारण क्षेत्रीले काँग्रेसको १४औं जिल्ला अधिबेशनमा सर्बाधिक मत लिएर जिल्ला सहसचिवमा विजयी भएका थिए ।

४ नम्बरमा महिला वडाध्यक्ष सिफारिस

क्षेत्रीले लोकप्रिय काम गरेको ४ नम्बर वडामा आगामी निर्वाचनमा महिला वडाध्यक्षलाई उम्मेदवार बनाइने भएको छ । हिरा कुमारी पुनलाई सर्बसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार बनाउन जिल्लामा सिफारिस गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

उपाध्यक्षमा दुई जनाको नाम सिफारिस

आगामी निर्वाचनमा नेपाली काँग्रेसबाट सुनिलस्मृति गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाउन दुई जनाको नाम सिफारिस भएको छ । हाल ३ नम्बर वडासदस्य समेत रहेकी महिला नेतृ तेजकुमारी विष्ट र मिछाकुमारी पुनको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस