घोराही, दाङ । लकडाउनका कारण दाङको घोराहीमा अलपत्र परेका यात्रुहरुलाई दाङमा क्रियाशील युवाहरुले सहजीकरण गरी बसमा गृहक्षेत्र पठाएका छन् । देशका विभिन्न जिल्लाबाट रोल्पामा आउँदै गरेका मजदुरहरुलाई दाङको घोराहीबाट रोल्पाका विभिन्न गाउँपालिका पठाइएको हो । धादिङको इँटाभट्टामा मजदुरी गर्न गएका परिवर्तन गाउँपालिकाका २७ जनाको उद्धार गरिएको युवा संघ नेपालका हिमाल रसाइलीले जानकारी दिए ।
धादिङबाट रोल्पा आउनका लागि सडकमा निस्किएका ती मजदुरहरुलाई दाङ आउँदै गरेको खसी बोक्ने गाडीमा रातभरका कष्टकर यात्रापछि घोराही पुगेका थिए । घोराहीमा हिमाल रसाइली, खगेन्द्र जीएम, तारा खड्का, राष्ट्रिय युवा संघ दाङका नेता अनिलराज सिर्पाइली, घोराही उपमहानगर विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी लगायतको क्रियाशीलतामा ती मजदुरहरुको उद्धार गरिएको थियो ।
उद्धारपछि परिवर्तन गाउँपालिका रोल्पाका उपाध्यक्ष हितकुमारी बुढा, परिवर्तन गाउँपालिका–५ का वडाअध्यक्ष सुकबहादुर बुढा थमन, विपिन रोका, भूपेन्द्र बुढालगायतको समन्वयमा सम्बन्धित वडाको क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
युवाहरुको टोलीले दाङको घोराहीमा कोरानाविरुद्ध सचेतना फैलाउनुका साथै अप्ठ्यारोमा परेकाहरुको उद्धारका निम्ति समेत पहल गरिरहेको छ । सामाजिक अभियानमा क्रियाशील युवाहरु अलपत्र मजदुरको उद्धारका लागि दिनरात खटिएर सामाजिक उत्तरदायित्व बहन गरिरहेको घोराहीका स्थानीयले बताएका छन् ।