जसले रोल्पालाई सिंहदरबारसँग जोडे

विक्रम संवत २०१८ सालको नयाँ भौगोलिक संरचना अनुसार दाङ, प्यूठान र सल्यान जिल्लाका केही भाग कटाएर ३३ गाउँ पञ्चायत सहितको रोल्पा जिल्ला बनेको हो । दोश्रो पटकको संरचना अनुसार ५१ गाउँ पञ्चायत विभाजित रोल्पा बहुदल पछि ५१ गाउँ विकास समितिको रुपमा स्थापित भयो । पछिल्लो राज्य पुनर संरचनाले साविकका ती गाविसहरुलाई १० स्थानीय तह भित्र ७२ वडामा विभाजित ग¥यो ।

प्रस्तुत लेखमा रोल्पाका साविकका कुन—कुन गाविसले जनप्रतिनिधिहरुको उपल्लो निकाय प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा पछिल्लो संचरना अनुसारको प्रदेश सभा र राज्यका अन्य महत्वपूर्ण पदहरुमा प्रतिनिधित्व गराउन सफल भए भन्ने विषयको चर्चा गर्ने प्रयाय गरिएको छ ।

गजुल :

खडानन्द सुवेदी : रोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो जनताद्धारा निर्वाचित सांसद हुन । उनी २०१५ सालको प्रथम आम निर्वाचनमा निर्वाचन क्षेत्र नं ८४ बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसबाट निर्वाचित उनले रोल्पाको राजनीतिलाई काठमाण्डौँसँग जोडेका हुन ।

रेगबहादुर सुवेदी : गजुलका रेगबहादुर सुवेदी पञ्चायती व्यवस्थामा रोल्पाबाट निर्वाचित माननीय हुन । राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित सुवेदी सहायक मन्त्री समेत हुने अवसर पाएका थिए । बहुदल पछि लामो समय राष्टिय प्रजातन्त्र पार्टीमा क्रियाशील सुवेदी पचासकाे  दशकमा नेपाली कांग्रेस प्रवेश गरेका हुन । वयोवद्ध सुवेदी हाल राजनीतिमा खासै सक्रिय देखिदैनन् ।

झक्कुप्रसाद सुवेदी : २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई हराएर एक्कासी चर्चाको शिखरमा पुगेका झक्कुप्रसाद सुवेदी रोल्पाको तारा मावि बामरुक र बालकल्याण नमूना माविका शिक्षक थिए । शिक्षक पेशाबाट राजीनामा दिएका उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले र संयुक्त जनमोर्चा नेपालको साझा उम्मेदवारको रुपमा जिल्ला विकास समिति रोल्पाको सभापति भएका थिए । सुवेदी हाल नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध छन् ।

खुमा सुवेदी : गजुल रोल्पामा जन्मिएकी खुमा सुवेदी विद्यार्थी काल देखी नै सक्रीय राजनीतिमा लागेकी हुन । २०६४ सालको निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट समानुपातिक सभासद् बनेकी सुवेदीले माओवादी युद्धकालमा श्रीमान गुमाएकी हुन । सुवेदीले डोल्पाका नन्द न्यौपानेसँग युद्धकालमा विवाह गरेकी थिईन । सुवेदी हाल नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध छिन ।

जोखबहादुर महरा : गजुलबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने अर्का व्यक्ति हुन जोखबहादुर महरा । जनज्योती माध्यमिक विद्यालय गजुलमा लामो समय अध्यापन गरेका महरा शिक्षक पेशा त्यागेर माओवादी युद्धमा होमिएका हुन । २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपाति सभासद बनेका महरा लामो समय सम्म तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा रहेर काम गरेका थिए । महरा हाल नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा (नेकपा)मा आवद्ध छन् ।

राजकुमार कँवर :  रोल्पा गजुल निवासी राजकुमार कँवर माओवादी सशस्त्र युद्धका घाईते हुन । उनलाई २०७४ सालमा भएको निर्वाचन पछि नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित गरिएको थियो । प्रत्येक प्रदेशबाट ८÷८ जनाका दरले निर्वाचित हुने कोटामा उनी प्रदेश ५ बाट नेकपा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा निर्वाचित भएका थिए । राष्ट्रिय सभाको नियामानुसार एक तिहाई सदस्यको कार्यकाल २ वर्षे हुने व्यवस्था अनुसार भएको गोलाप्रथामा उनी परेका थिए । उनको कार्यकाल केही महिना अघि सकिएको हो । कवर अहिले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा (नेकपा)मा आवद्ध छन् ।

मिझिङ :

बालाराम घर्तीमगर : साविकको मिझिङ गाविस अहिले सुनिल स्मृती गाउँपालिकाको वडा नं. ३ र ४ मा पर्दछ । बालाराम घर्तीमगर मिझिङ गाविस निवासी हुन । वडा सदस्यबाट राजनीति यात्रा सुरु गरेका घर्ती नेपालमा सबभन्दा लामो समय सम्म जनप्रतिनिधि हुने व्यक्तिमा गनिन्छन् । २०१९ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका उनी पञ्चायतमा ३० वर्ष लगातार निर्वाचित भए । पञ्चायतमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्री बाहेक सबै मन्त्रालयको अनुभव संगालेका घर्ती बहुदल पछि पनि प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्वाचित मात्र भएनन् । मन्त्री पनि भएका थिए । समकालिन राजनीतिमा अत्यन्तै परिपक्व नेताका रुपमा मानिने घर्ती अझै पनि राजनीतिमा सक्रिय छन् । ९० वर्ष पार गरिसकेका घर्ती अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् ।

कोर्चबाङ :

बमकुमारी बुढामगर : रोल्पाबाट पुरुष एकल प्रतिनिधित्वलाई पहिलो पटक चूनौती दिदै राष्ट्रिय पञ्चायत सदस्यमा प्रतिनिधित्व गर्ने पहिलो रोल्पाली महिला हुन बमकुमारी बढा । बमकुमारी बुढाको जन्म रोल्पाको कोर्चबाङमा भएको हो । बुढालाई तत्कालिन राष्ट्रिय पञ्चायत सदस्यमा राजाले मनोनित गरेका थिए । मगर भाषा तथा संस्कृतीको गहिरो अध्ययन गरेकी बुढा हाल राजनीतिमा सक्रिय छैनन् । उनी अध्ययन अनुसन्धानमा अभिरुची राख्छिन ।

दीपेन्द्र पुनमगर : रोल्पा कोर्चबाङमा जन्मिएका हुन दीपन्द्र पुनमगर । माओवादी सशस्त्र युद्धताका घाईते भएका पुन प्रदेश ५ प्रदेश सभा सदस्यमा रोल्पा निर्वाचन क्षेत्र नं १ (ख) बाट तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा निर्वाचित भएका हुन । पुन हाल नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा आवद्ध छन ।

लिबाङ :

कृष्णबहादुर महरा : रोल्पा सदरमुकाम लिबाङबाट पहिलो पटक सांसद हुने व्यक्ति हुन कृष्णबहादुर महरा । साविक लिबाङ गाविस वडा नंं ७ र हाल रोल्पा नगरपालिका १ मेवाङमा जन्मिएका महराले लामो समय सम्म सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा अध्यापन गरे । २०४८ सालको संसदीय निर्वाचनमा तत्कालिन नेकपा एमाले र संयुक्त जनमोर्चा नेपालका साझा उम्मेदवार बनेर महराले रोल्पा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । अन्तरिम व्यवस्थापिकामा तत्कालिन माओवादीबाट प्रतिनिधित्व गर्ने ७३ सांसद मध्ये महरा पनि एक हुन । महरा २०६४ साल, २०७० साल र २०७४ सालमा रोल्पा र दाङबाट निर्वाचित भएका थिए । महरा प्रतिनिधि सभाको सभामुख समेत भइसकेका व्यक्ति हुन । हाल उनी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा आवद्ध छन् ।

लेखनाथ आचार्य : तत्कालीन लिबाङ गाविस वडा नं. ६ हाल रोल्पा नगरपालिका ४ लिबाङका स्थायी बासिन्दा हुन लेखनाथ आचार्य । आचार्य २०५६ सालमा भएको प्रतिनिधि सभा सदस्य पदमा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । प्रतिनिधि सभा प्राकृतिक श्रोत साधन समितिका सभापति समेत रहेका आचार्य हाल नेपाली कांग्रेसमा आवद्ध छन ।

थवाङ :

बरमण बुढामगर : रोल्पा थबाङका बरमन बुढामगर २०४८ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधि हुन । तत्कालीन नेकपा एमाले र संयुक्त जनमोर्चा नेपालको साझा उम्मेदवार बनेर रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । संसद भवनमा प्रवेश गर्दा पनि आफ्नो मौलिक पहिचान दिएर चर्चित बनेका बुढा, कछाड बुढा भनेर चिनिन्थे । बुढा हाल राजनीतिमा सक्रिय छैनन् ।

सन्तोष बुढामगर : संसद पुर्नस्थापनासँगै गठन भएको व्यवस्थापिका संसदमा तत्कालिन नेकपा माओवादीको तर्फबाट अन्तरिम विधायिका बनेका सन्तोष बुढा मगर रोल्पा थबाङ निवासी हुन । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनबाट रोल्पा निर्वाचन क्षेत्र नं. २ र काठमाण्डौँ निर्वाचन क्षेत्र नं. १० वाट निर्वाचित पुष्मकमल दाहालले रोल्पा निर्वाचत क्षेत्र नं २ छाडे संगै भएको उप—निर्वाचनमा बुढा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन । बुढा हाल नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध छन् ।

खुंग्री :

सुरेन्द्र हमाल : सुरेन्द्र हमाल २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचत सांसद हुन । हमाल रोल्पा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचि भएका थिए । नेपाली कांग्रेसको सरकारमा राज्यमन्त्री बनिसकेका हमाल रोल्पाको खुंग्री गाविसका स्थायी बासिन्दा हुन । हमाल हाल नेपाली कांग्रेसमा आवद्ध छन् ।

ईरिबाङ :

भीमकुमारी बुढा : रोल्पाबाट पाहिलो महिला मन्त्री हुन भिमकुमारी बुढा । उनी नेपाली कांग्रेसको सरकारमा पर्यटन तथा नागरिक उड्डयन सहायक मन्त्री बनेकी थिईन । प्रतिनिधि सभा सदस्य नरहेकी उनलाई पार्टीले सहायक मन्त्रीको जिम्मेवारी दिएको हो । रोल्पाको ईरिवाङ गाविस हाल परिवर्तन गाउँपालिकाकी स्थायी बासिन्दा बुढा नेपाली कांग्रेसमा आवद्ध छिन ।

राँसी :

नन्दबहादुर पुन : साविक रोल्पा राँसी गाविस हाल परिवर्तन गाउँपालिका राँसीका स्थायी बासिन्दा हुन नन्दबहादुर पुन । जनसेवा मावि राँसीक उनै शिक्षक नन्दबहादुर पुन अहिले संघीय गणतन्त्र नेपालका दोश्रो उपराष्ट्रपति छन् । पुनः दोश्रो कालका लागि उपराष्ट्रपति निर्वाचित भएका हुन । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दलको समर्थनमा पुनः दोश्रो कार्यकालका लागि उपराष्ट्रपति निर्वाचित भएका हुन ।

जयपुरी घर्ती : साविक रोल्पा राँसी गाविस हाल परिवर्तन गाउँपालिका राँसीमा जन्मिएकी हुन जयपुरी घर्ती । माओवादी सशस्त्र युद्धमा श्रीमान गुमाएकी घर्ती अन्तरिम व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने तत्कालिन माओवादीका ७३ विधायक मध्ये एक हुन । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सदस्य रहेकी घर्ती हाल प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको सभापति छिन । घर्ती हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध छिन ।

जँकोट :

वर्षमान पुनमगर : साविक रोल्पा जँकोट गाविस हाल रोल्पा नगरपालिका जँकोटका स्थायी बासिन्दा हुन वर्षमान पुनमगर । पश्चिम नेपालको पहिलो अर्थमन्त्री हुने सौभाग्य पाएका पुन कानूनका विद्यार्थी हुन । २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा पुनः ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा मोरड क्षेत्र नं. ९ बाट पराजित भएका पुन २०७४ सालको निर्वाचनमा भने गृह जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन । हाल उर्जा जलश्रोत तथा सिचाई मन्त्री रहेका पुन । हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा आवद्ध छन् ।

ओनसरी घर्तीमगर : प्रतिनिधि सभाको पहिलो महिला सभामुख ओनसरी घर्तीको घर रोल्पाको जँकोटमा पर्छ । अन्तरिम विधायिकाबाट संसद प्रवेश पाएकी घर्ती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीको तर्फबाट समानुपातिक सभासद थिईन । २०७० सालका संविधान सभा निर्वाचनमा उनले रोल्पा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन जितेकी हुन । युवा तथा खेलकुद मन्त्री, उपसभामुख तथा सभामुख समेत भईसकेकी घर्ती हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा आवद्ध छिन ।

कोटगाउँ:

तारा घर्तीमगर : रोल्पाको कोटगाउँकी स्थायी बासिन्दा हुन तारा घर्तीमगर । २०६४ सालको संविधान सभा सदस्यमा तत्कालिन नेकपा माओवादीबाट समानुपातिक सभासद थिईन । घर्ती हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा आवद्ध छिन ।

कुलप्रसाद केसी : पूर्णकालिन राजनितिमा आउनुपूर्व सदरमुकाममा रहेको बालकल्याण नमुना माविका शिक्षक थिए कुलप्रसाद केसी । उनी २०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको साझा उम्मेदवारको रुपमा निर्वाचन जितेका हुन । केसी हाल प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा बहाल छन् । केसीको राजनैतिक संलग्नता नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा छ ।

सखी

रीमा नेपाली : रोल्पा खसीको स्थायी बासिन्दा हुन रीमा नेपाली । २०६४ सालको संविधान सभा सदस्यमा नेकपा एमालेको तर्फबाट समानुपातिक तर्फबाट प्रतिनिधित्व गरेकी थिईन । नेपाली हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध छिन ।

मसिना:

सन्तोषी विक : सन्तोषी विक रोल्पाको साविक मसिना गाविसमा जन्मिएकी हुन । २०६४ सालको संविधान सभा निर्वाचनमा विक तत्कालिन नेकपा माओवादीको तर्फबाट समानुपातिक सभासद् भएकी थिईन । विक हाल नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध छिन ।

राँक :

अमरसिं पुन : रोल्पा राँकका स्थायी बासिन्दा हुन अमरसिं पुनमगर । २०७० सालको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट संविधान सभामा समानुपातिक सदस्य रहेका पुन उर्जा जलश्रोत तथा सिचाई राज्य मन्त्री भएका थिए । पुनको हालको राजनैतिक संलग्नता नेपाली काँग्रेसमा रहेको छ ।

गैरीगाउँ :

गोकुलप्रसाद घर्ती : गोकुलप्रसाद घर्तीमगर रोल्पा गैरीगाउँका स्थायी बासिन्दा हुन । दोश्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिक सभासद् रहेको घर्ती सो पार्टी संसदीय दलको सचेतक रहेका थिए । लामो समय विद्यार्थी राजनीति गरेको घर्ती अनेरास्ववियूको अध्यक्षमा पराजित भएसँगै पार्टी राजनीतिमा सक्रिय भएका हुन । घर्ती हाल नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध छन् ।

कुरेली :

मीना बुढामगर : रोल्पाको साविक कुरेली गाविसको स्थायी बासिन्दा हुन मीना बुढा । २०७४ सालको आम निर्वाचन पछि भएको राष्ट्रिय सभा सदस्यमा तत्कालिन नेकपा एमालेको तर्फबाट निर्वाचित भएकी हुन । उनी हरेक प्रदेशबाट निर्वाचित हुने ८÷८ जना सदस्य मध्ये प्रदेश ५ बाट तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा निर्वाचित भएकी हुन । हरेक एक तिहाई सदस्यको कार्यकाल २ वर्ष सकिने राष्ट्रिय सभाको प्रावधान अनुसार भएको गोलाप्रथामा बुढामगरले २ वर्षे कार्यकाल केही महिना अघि सकेकी छिन । उनी हाल नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा आवद्ध छिन ।

निश्कर्ष :

साविकका ५१ गाविस भएको रोल्पामा हाल सम्म राज्यका राजनैतिक क्षेत्रको महत्वपूर्ण अंगहरुमा प्रतिनिधित्व गराउन सफल हुने गाविस संख्या १३ वटा देखिन्छ । १३ गाविसवाट २४ जनाले रोल्पालाई माथिल्लो निकायसँग जोड्ने काम गरे । यसरी निर्वाचित हुने मध्ये ९ जना महिला र १५ जना पुरुष रहेका छन । जातीय रुपमा दलित २, जनजाती १३ र क्षेत्री बाहुन ९ जना देखिएका छन् । क्षेत्रगत रुपमा निर्वाचन क्षेत्र नं. १ बाट ११ जना र निर्वाचन क्षेत्र नं. २ बाट १३ जना देखिएका छन् । राजनैतिक आवद्धताको हिसाबले सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा)मा आवद्ध १२ जना, नेपाली कांग्रेसमा आवद्ध ४ जना, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध ३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध १ जना र दलमा आवद्धता नभएका ३ जना र मृत्यु भएका १ जना रहेका छन्।

(लेखक न्यौपाने -नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाका अध्यक्ष हुन् )

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस