
१७वैशाख,रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।४३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२ जनालाई कोरोना संक्रमण देखिएको हो।
४३ जनाकै स्वाब संकलन गरेर भैरहवा पठाइएको र ती मध्ये ४२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक त्रिभुवन सिंह घर्तीले जानकारी दिए।
संक्रमित हुनेहरुमा गाउँपालिकाकै केही कर्मचारी, जनप्रतिनिधि र स्थानीय रहेका छन्। कोरोनाको खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको छ।
सुरुमा लेखा अधिकृत र एक स्थानीय व्यवसायीलाई कोरोना संक्रमण देखिएको थियो। रोल्पामा पहिलो पटक यति ठुलो संख्यामा कोरोना संक्रमण देखिएपछि जिल्लावासी नै त्रसित बनेका छन्।
कोरोना संक्रमितहरु हाल आ—आफ्नो घरको आइसोलेसनमा बसिरहेका छन्। कोरोनाले तीव्र रुप लिन थालेपछि १० दिनको लागि गाउँपालिका नै सिल गरिएको छ।