फेरि रोयो रोल्पा

घटना भएको करिब १८ घण्टासम्म ४ बालबालिकाको लाश चिसो भुइमा पल्टिरहेको थियो। छेउमा रहेको अर्को बम डिस्पोज गर्न दाङबाट बिहान हिडेको नेपाली सेनाको टोली अबेर मात्र आएको थियो।

रोल्पा । काठमाण्डौँ ईट्टाभट्टामा मजदुरी गर्ने लालबहादुर खत्री १४ दिन क्वारेन्टाइन बसेर बिहिवार मात्रै घर आएका थिए। महिनौपछि घर आएका उनको छोराछोरीसंग सुकुनले रात बिताउने सपना बम बिस्फोटले एकैछिनमा सँधैका लागि चकनाचुर पारि दियोे।
गोठालो गएका छोरा र छोरी घरमा आउने आशमा पर्खि बसेका खत्रीलाई ठूलो स्वरमा पड्किएको आवाजले खेततिर दौडायो। वरपरका गाउँले एकै साथ आवाज आएतिर दौडिए। केहिबेरमा लालबहादुरले ११ बर्षिया छोरी बिमला र ५ बर्षे छोरा बिजयको बिभत्स शव भेटाए।
खेतमा पुगेर अर्धचेत बनेका खत्रीले आशु बगाउदै छोरा र छोरीको रक्त्तीमुसल लाश हेरिमात्र रहे। घटनास्थल पुगेका गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीका अनुसार बिमलाले सम्भवतः भाईलाई बोकेकी थिइन्। ‘दिदीको काधमै थियो बिजय।’ बाख्रा चराउन गएका ४ कलिला बालबालिकाको कोमल शरीर छरपस्ट थियो।
लालबहादुरसंगै उहि छिमेका १४ बर्षिय नोखिराम डागीका परिवार पनि बिक्षिप्त अबस्थामा थिए। उता मावली आएका १३ वर्षिय गौरव नेपालीको शव पनि बिभत्स रुपमा लडेको थियो। गौरबका बुवा मजदुरीका लागि भारतमा छन्।
सिमसिम परेको पानी बढ्दै थियो अनि रात छिप्पीदै। छेउमा अर्को ठूलो बम भएका कारण उनीहरुले आफ्ना सन्तानको शव छुन त के कपडाले छोप्न पनि पाएनन्। बिस्तारै रात छिप्पीएसंगै पानी पनि बेजोडले पर्न थाल्यो। वरिपरि प्रहरीको घेरासंगै गाउँलेहरु रातभर रुङेर बसे। ‘सुनपानी खुवाउने त परै जावस बिचरा बच्चाहरुको लासमा कात्रो समेत राख्न पाइएन।’ एक स्थानीयले भने ‘रातै भरि आकास र आँखाको पानी बगेर उज्यालो भयो।’
मृतक बालक गौरव नेपालीको मंगलवार कक्षा ६ को रिजल्ट आएको थियो। बार्षिक परीक्षा पास भएको खुसीमा उनी मामा घरमा आएका थिए तर उनको ७ कक्षा पढ्ने रहर बिस्फोटसंगै उडेर गयो। ‘गौरव हाम्रो विद्यालयको राम्रो बिद्यार्थी थिए। सधै प्रथम श्रेणीमा पास हुन्थे तर उनका जीबनलीला नै सकियो।’ शिक्षक मनिराम घर्तीले भने ‘आश लाग्दो बिद्यार्थी गुमाएका छौ।’ शिशुु कक्षामा पढ्ने भाई बिजयलाई बोकेकी बिमलाले ५ कक्षाको र नोखिराम ७ कक्षाको रिजल्ट कुरेर बसेका थिए।
बाख्रा गोठाला गएका त्रिबेणी गाउँपालिका ७ गैरीगाउँका एउटै टोलका ४ जना बालबालिकाले बिहिवार बेलुली ६ बजेतिर बेबारीसे बम बिस्फोटमा ज्यान गुमाए। हिजो रोल्पामा धेरै रातहरु रोएका थिए। १० बर्षसम्म चलेको कहाली लाग्दो द्वन्द र त्यसका बाछिटाहरुले रोल्पा र रोल्पालीलाई भरपेट रुवायो मात्र। बम, बारुद र बन्दुकका डरलाग्दा आवाजले भरिएका कानहरु ठूलो गुञ्जनले आज पनि झस्किन्छन्। अलि समय भएको थियो शान्तिको बाटोमा हिडेको तर बिहिवार फेरि रोल्पा रोएको छ।
करिब १८ घण्टापछि उठ्यो लाश
घटना भएको करिब १८ घण्टासम्म ४ बालबालिकाको लाश चिसो भुइमा पल्टिरहेको थियो। छेउमा रहेको अर्को बम डिस्पोज गर्न दाङबाट बिहान हिडेको नेपाली सेनाको टोली अबेर मात्र आएको थियो। यति ठूलो बिभत्स घटनामा राज्यले खासै चासो दिएको पाइएन। ‘सहज रात्री बिस्राम’ पछि सुरक्षा निकायका प्रमुखहरु पनि दिउँसो अबेर मात्र घटना स्थल पुगेका थिए। प्रदेश न। ५ का प्रहरी प्रमुख लिएर आन्तरिक मामिला तथा कानुन मन्त्री त झनै अबेर मात्र तिर पुगेका थिए।
१८ घण्टापछि लाश त उठाइयो तर पोष्टमार्टमका लागि समस्या थपियो। नजिकैको होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत ६ महिना यता डाक्टर छैनन् भने जिल्ला अस्पताल टाढा छ। सरकारले दरबन्दी अनुसार डाक्टर नपठाएको दुर्भाग्य रोल्पालीले भोग्नु नै थियो यसपटक लाश माथि भोगे। दुई बजेतिर ४ बालबालीकाको लाश पोष्टमार्टम गर्न दाङ घोराही पठाइएको थियो।
सरकारी उदाशिनता र लापरबाहीका कारण बिहिवार मारिएका बालबालिकाको अन्त्येष्टी शनिबार मात्रै हुने छ। स्थानीय भन्छन् ‘सरकार शंवेदनशिल भएको भए रातारात सेना प्रहरी घटना स्थल पठाएर बिहान सबेरै लाश उठाउन सकिन्थ्यो नि। अथवा हेलिकप्टर कै प्रयोग गरेर भए पनि उद्धार त समयमा गर्नु पर्ने थियो। यहाँनेर फेरि पनि सरकार चुकेको छ।’
त्यसो त यति ठूलो घटनाका बारेमा केन्द्र र प्रदेश सरकारले समवेदनाका लागि समेत मुख फोडेका छैनन्। मृतकका परिवारलाई राहत वा क्षतिपूर्तिका बारेमा पनि कोहि बोलेनन्। मे १ मा मजदुर दिवश मनाइरहदा रोल्पाका मजदुर परिवारमाथि परेको पीडाप्रति उदाशिन राज्यशत्ता लाज पचाएरै बसेको देखियो। घटनास्थल पुगेका प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले घटनाको बारेमा प्रहरीले छानबिन गर्ने बताउदै राहत र क्षतिपूर्तिका सवालमा सरकारले गर्न सक्ने बताए।
‘यो घटनाको न्यायिक छानबिन हुनुपर्छ। पीडिले न्याय पाउनै पर्छ र यस्ता मुद्धामा राज्य गम्भिर अनि सम्बेदनशिल समेत बन्नु पर्छ।’ अधिकारकर्मी खेम बुढा भन्छन् ‘द्वन्कालीन घटनामा मारिएकाले पाए बराबरको क्षतिपूर्ति पाउनु पर्छ। यस्तो अबस्थामा राज्य केहि बोल्नुपर्ने तर बोलेको छैन यो एकदम दुखद हो।’
त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले राहत र क्षतिपूर्तिका बिषयमा मुख्य मन्त्रीसंग कुरा भएको बताउदै स्थानीय सरकारले पनि पीडित परिवारलाई उचित सहयोग गर्ने बताएका छन्। उनका अनुसार अहिलेसम्म केन्द्र र प्रदेश सरकारले थप केहि बोलेका छैनन्। प्रदेश न। ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसीले घटनाको छानबिन गरिने बताउदै प्रदेश सरकारले छिटै राहत र क्षतिपूर्तिका लागि निर्णय गर्ने बताए। उनले संघीय सरकारलाई पनि सहयोगका लागि अनुरोध गर्ने भन्दै अब घटना भएको एरियालाई एक पटक सर्च गरिने बताए।
घटना स्थल पुगेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार बम पुरानो नै भएको भन्ने आशंका गरिएको छ। ‘खिया नलागेको भए पनि पहिले द्वन्दका समयमा रहेको हुन सक्ने अनुमान गरिएको छ।’ उनले भने ‘स्थानीयका अनुसार उक्त क्षेत्रमा अरु पनि द्धन्द्धकालीन हतियार हुन सक्ने सम्भाबना देखिएको छ। केहि समयपछि नेपाली सेनालाई सो एरिया सर्च गर्न लगाउछौ।’ माओबादी युद्धताका २०६२ सालमा गैरीगाउँको दुम्ला ईलाकामा सुरक्षाकर्मी र बिद्रोही पक्ष बिच ठूलो भिडन्त समेत भएको थियो। – दिनेश सुवेदी / नागरिक दैनिकबाट साभार 

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस