हातमा लट्ठी
निदार ढाकेको
शिरमा च्याट्ट!
ढाका टोपी
कालो चस्मा
टक टक
महेल पोशमा
मुसुमुसु मुस्कुराउदै
गजबको बान्की परेर
उहाँको सवारी भयो।
लावालस्कर
अघि पछि
ताम झाम
विचित्र
थरि-थरिका
गुण गान
कति हो कति
घरि-घरि हात हल्लाउँदै
गजबको बान्की परेर
उहाँको सवारी भयो।
गाउँमा
हल्ला थियो
गरीबको नेता
ठूलै मान्छे
भोका नाङ्गाको
अन्नदाता
उहाँ,
थरीथरीका सित हात मिलाउँदै
गजबको बान्की परेर
उहाँको सवारी भयो।
चारै तिर
पहरेदार
मञ्चमा
नाना थरीका
भाषण ठोकेर
विकासको
मुहान फुटाउँदै
बाई-बाई गर्दै हात हल्लाउँदै
गजबको बान्की परेर
उहाँको सवारी गयो।
प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार