स्थानीय उत्पादनले पाएन बजार

३१वैशाख,रोल्पा । करेसावारिमा लटरम्भ फलेको तरकारी देखेर दंग छिन , रोल्पा सुनिल स्मृती गाउँपालिका १ घोडागाउँकी शिवा रिजाल । गत फाल्गुनमा रोपेको सिमी यतिबेला खाने भएको छ । अचेल उनको भान्सामा दिनहुँ सिमीको तरकारी पाक्ने गर्छ । अघिल्ला वर्ष घरायसी प्रयोजनको लागि मात्रै तरकारी लगाउने रिजालले यस वर्ष भने दुई चार पैसा आमदानी गर्ने सोचले अलि बढी क्षेत्रमा तरकारी खेती गरेकी थिईन ।
उनको बारीमा फलेको तरकारीले भने बजार पाएको छैन । भारतबाट आएको तरकारी गाडी मार्फत घोडागाउँका बस्ती बस्ती पुग्न थालेपछि आफ्नो बारीमा भएको तरकारी खेर जाने हो की भन्ने चिन्ताले सताएको छ उनलाई । भारतबाट आउने तरकारी महंगो मूल्यमा किन्ने स्थानीयहरुले गाउँमै उत्पादन भएको तरकारी नकिन्दा उनलाई अचम्म लाग्छ । ताजा तरकारी किन्नुको साटो बाहिरबाट आएको तरकारी किनेको देखिन्छ रिजालले भनिन् । बाहिरबाट आएको मूल्यको ठिक आधा मूल्यमा आफुले तरकारी बेच्ने गरे पनि बिक्री नभएको रिजालको गुनासो छ ।
स्थानीय उत्पादनले बजार नपाएको मारमा रिजाल मात्र हैन कृषि स्मार्ट कार्यक्रमबाट तालिम लिएर तरकारी खेती गरिरहेका यहाँका १५ जना किसानको साझा समस्या हो । तालिम पश्चात स्थानीय गाउँलाई लक्षित गरेर तरकारी खेती गरेका थियौै अहिले भने जिल्ला बाहिरबाट आएको तरकारीले हाम्रो उत्पादनलाई ओझेलमा पा¥यो अर्का कृषक कमला कँवर बताउ छन् । बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गरि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने किसानहरुको भनाई छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस