१८असार, रोल्पा । रोल्पाका उच्चपहाडी खर्कहरू यतिबेला भेडाका सेताम्मे बथानले भरिएका छन्। पुस्तौँदेखि परम्परागत रूपमा गरिँदै आएको भेडापालन पछिल्लो समय स्थानीयको आम्दानीको राम्रो स्रोत बन्न थालेको छ। भेडापालनबाट गाउँमै राम्रो आम्दानी हुन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरू समेत यस व्यवसायमा आकर्षित भएका छन्।
सुनछहरी गाउँपालिका–१ सेरमका चेतमान रोका क्षेत्री बाल्यकालदेखि नै भेडापालनमा संलग्न छन्। बाजेबुबासँगै खर्कमा भेडा चराउँदै हुर्किएका उनी अहिले पनि यही पेसामा रमाइरहेका छन्। उनको गोठमा अहिले १ सय ५० भन्दा बढी भेडा छन्।
बिहानदेखि साँझसम्म भेडाको हेरचाह र चरन क्षेत्रको व्यवस्थापनमै उनको अधिकांश समय बित्ने गरेको छ। पुस्तौँदेखि गर्दै आएको पेसाबाटै राम्रो आम्दानी हुन थालेपछि अन्य रोजगारी खोज्नुपर्ने बाध्यता नरहेको उनी बताउँछन्।
सुनछहरी गाउँपालिका–२ भित्रिगामका जंगबहादुर घर्तीमगर पनि वैदेशिक रोजगारीबाट फर्किएपछि भेडापालनमा लागेका छन्। १३ वर्ष वैदेशिक रोजगारीमा बिताएका उनको गोठमा अहिले ३ सयभन्दा बढी भेडा छन्। विदेशको कमाइभन्दा गाउँमै भेडापालनबाट राम्रो आम्दानी भइरहेको उनी बताउँछन्।
चेतमान र जंगबहादुर रोल्पाका भेडापालक किसानका प्रतिनिधि पात्र हुन्। जिल्लाका उच्चपहाडी क्षेत्रमा ठूलो संख्यामा स्थानीय भेडापालनमा संलग्न छन्। किसानले भेडाको मासु, ऊन र घ्यू बिक्री गरेर आम्दानी गर्दै आएका छन्। एक सिजनमा किसानले दुई लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
रोल्पामा उत्पादित भेडा तथा त्यसबाट उत्पादित वस्तुहरू दाङ, बुटवल, पोखरा र काठमाडौंलगायतका सहरसम्म पुग्ने गरेका छन्। जिल्लाभर ३० हजारभन्दा बढी भेडा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपाने बताउँ छन् ।
भेडापालक किसानलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश सरकारले रैथाने बाली तथा वस्तु प्रवद्र्धन कार्यक्रमसमेत सञ्चालन गरेको डा. न्यौपानेले बताए । विज्ञ केन्द्र मार्फत पशु चिकित्सकहरूले पनि समय–समयमा भेडाका चरन क्षेत्रमा पुगेर उपचार तथा आवश्यक प्राविधिक सल्लाह दिने गरेका छन्।
चरन क्षेत्रको खोजीमा रोल्पाका भेडापालक किसानहरू प्यूठान, रुकुम र बागलुङसम्म पुग्ने गरेका छन्। खुला खर्क र पर्याप्त चरन क्षेत्रका कारण उच्चपहाडी क्षेत्रमा भेडापालनको राम्रो सम्भावना रहेको किसानहरू बताउँछन्।
परम्परागत पेसाका रूपमा सीमित भेडापालनलाई व्यवस्थित र व्यावसायिक बनाउन सके स्थानीयस्तरमै रोजगारी र आयआर्जनका थप अवसर सिर्जना गर्न सकिने देखिएको छ। बजार विस्तार, चरन क्षेत्रको संरक्षण, पशु स्वास्थ्य सेवा र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम प्रभावकारी बनाउन सके रोल्पाको भेडापालनले व्यावसायिक रूप लिन सक्ने सम्भावना देखिएको छ।


