रोल्पामा आधुनिक हतियारको म्याग्जिन र गोली बरामद

८ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका २ रामपुरमा प्रहरीले आधुनिक हतियारका म्याग्जिन र गोली बरामद गरेको छ । रामपुरस्थित बाँस घारीमा लुकाई राखेको अवस्थामा अत्याधुनिक हतियारका म्याग्जिन र गोली बरामद गरिएको हो ।

रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो। त्यसैगरि एके ४७ को गोली ७ सय ५२ थान, ९ एमएमको गोली १० राउन्ड  र ७‍.६२ मिमिको गोली २ सय ८ राउन्ड  गरि ९ सय ७० राउन्ड गोली र २५ थान म्याग्जिन बरामद भएको हो। उक्त स्थानमा हतियार रहेको गोप्य सूचना आएपछि जिल्लाबाट खटिएको सुरक्षा निकायका टोलीले बरामद गरेको हो ।

बरामद गरिएका हतियार द्वन्द्वकालीन अवस्थाका नभएर नयाँ जस्तो देखिएको छ । ‘हतियार ओसार पसारका क्रममा लुकाएको हुन सक्ने प्रहरी प्रमुख सुवेदीको भनाई छ । हतियार कसरी आयो भन्ने बारे अनुसन्धान गर्ने काम भई रहेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस