सुनीलस्मृति गाउँपालिका अध्यक्षद्वारा वडाध्यक्षमाथि कुटपिट

१०जेठ, रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्षले वडाअध्यक्षलाई कुटपिट गरेका छन् । गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको ४ नम्वर वडाध्यक्ष गञ्जबहादुर क्षत्रिलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमा कुटपिट गरेको वडा अध्यक्ष क्षत्रीले बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि जेठ ९ गते बसेको कार्यपालिका बैठकमा अध्यक्ष घर्तीले वडाध्यक्ष क्षत्रीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष क्षत्रिले आफ्नो वडामा रहेका बैंकहरुलाई सोमबार र बिहिबार खोल्ने निर्णय वडाबाट गराएका थिए ।
तर, कार्यपालिकाको बैठकमा वडाको कुनै पनि निर्णय आफुलाई अमान्य हुने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिके र आफुमाथि कुटपिट गरेको वडाअध्यक्ष क्षत्रिको आरोप छ । क्षत्रीले गाउँपालिका अध्यक्षलाई कार्वाही माग गर्दै ईलाका प्रहरी कार्यालय सुलिचौरमा निवेदन दिएका छन् । कार्यपालिकाका एक सदस्यको भनाई अनुसार गाउँपालका अध्यक्ष घर्तीले दादागिरी शैलिमा अपशब्द प्रयोग गरी हातपात गरेको उनले बताएका छन् । कुपीटबाट वडाध्यक्ष क्षत्रीको शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको छ ।
यता नेपाली काँग्रेस रोल्पामाले विज्ञप्ति निकालेर गाउँपालिका अध्यक्ष घर्तीको कार्यलाई अपराधिक गतिविधि गरेको जनाएको छ । स्थानीय सरकारको प्रमुख जिम्मेवारी पदमा रहेको गाउँपालिका अध्यक्षले सबैलाई समेटेर जाने र विवाद भएका मिलाउँदै जानुपर्नेमा आफ्नो निर्णयलाई लाद्न खाज्ने र हातपात नै गर्ने कार्य कानुन विपरित अपराधिक गतिविधि भएकोले यस्तो कार्यले लोकतान्त्रीक गणतन्त्रका धज्जी उडाएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगर द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
कार्यपालिका बैठक जस्तो गरिमामय ठाउँमा गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले कानुनलाई आफ्नो हातमा लिई यस्तो खाले हर्कत गर्नु कसैको लागि सहैए नहुने भएकोले गाउँपालिका अध्यक्षमाथि कानुन बमोजिम हतैसम्मको कारवाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्दछौ विज्ञप्तिमा भनिएको छ । गाउँपालिका र नेकपाले भने अहिलेसम्म कुनै पनि लिखित प्रतिक्रिया दिएको छैन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस