भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न खोज्दा विद्यालय भवन भत्काइयो

१७जेठ,काठमाडौं । लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६ का बासिन्दाले शिक्षककै नेतृत्वमा विद्यालय भवन भत्काएका छन् । भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्दा कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले विद्यालय भत्काएका हुन् ।
भेरी नगरपालिकाले भारतलगायत विभिन्न मुलुकबाट आएका स्थानीय बासिन्दालाई राख्न स्थानीय कृष्ण प्राथमिक विद्यालयको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वडा कार्यालयले विद्यालयमा विदेशबाट आएकालाई राख्न खोज्दा शिक्षककै अगुवाइमा विद्यालय नै भत्काइएको वडाध्यक्ष शशि बुढाले बताए । क्वारेन्टाइनका लागि गरिएको व्यवस्थापनका सबै सामग्री पनि फालेका छन्,’ उनले भने । स्थानीय बासिन्दाले विद्यालयको छानो र पर्खाल भत्काएका हुन् ।
नगरपालिकाले बस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको स्थानीयको आरोप छ । तर, विद्यालयनजिक बस्ती नभएको वडाध्यक्ष बुढाले बताए । ‘नगरपालिकाको निर्देशन, अधिकांश गाउँलेको सहमति र वडास्तरीय कोरोना रोकथाम समितिको निर्णयअनुसार क्वारेन्टाइन बनाएका थियौँ,’ वडाध्यक्ष बुढाले भने, ‘हातहतियारसहित आएका गाउँकै मान्छेले विद्यालय भत्काए ।’ यसमा शिक्षक जयबहादुर शाहीसँगै स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र बले घर्तीलगायतको प्रमुख भूमिका रहेको उनले बताए ।
क्वारेन्टाइन बनाउने विद्यालय भत्काएपछि भारतबाट फर्किएका स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको छ । विद्यालय भत्काएको विषयमा सोधपुछ गर्दा उल्टै आफूलाई पनि ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष बुढाको गुनासो छ ।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र स्थानीय सरकारको कामलाई अवरोध पुर्‍याउनेलाई कारबाही गरिने बताए । ‘विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जोसुकै भए पनि कारबाही गर्छौँ,’ उनले भने । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाबारे बुझ्ने बताए । लकडाउनको समयमा पनि भारतका विभिन्न सहरबाट जाजरकोटवासी फर्किने क्रम जारी छ । अहिलेसम्म आएकालाई सदरमुकाम खलंगा तथा आसपासका क्षेत्रका विद्यालय र सरकारी भवनमा राख्ने गरिएको छ । संख्या बढ्न थालेपछि गाउँपालिकामा क्वारेन्टाइन बनाउन लगाइएको थियो । देशबाहिर रहेका करिब पाँच हजार जाजरकोटवासी गाउँ फर्किने अनुमान गरिएको छ । आजको नयाँपत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७ जेष्ठ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस