२०जेठ, रोल्पा ।  रोल्पाको माडी गाउँपालिका– २ घर्तीगाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको ८ वर्ष भयो। अहिले उनी १७ वर्षकी भइन। ९ वर्षको हुँदा उनका दुवै खुट्टा चल्न छाडे। गाउँको विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी उनी खुट्ट नचलेपछि स्कूल जान सकिनन्। पढेर ठूलो मान्छे बन्ने उनको सपनामा विश्राम लाग्यो।

आमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको ४ वर्ष भइसकेको छ। बुबा पनि दुवै खुट्टाको अपांग। घरमा १४ वर्षकी विपना र ९ वर्षकी दीपा दुई अवोध बहिनीहरू र ८१ वर्षीया हजुरआमा नौला घर्तीमगर मात्रै छन। २ दिदीहरूको विवाह भएर गएपछि त उनको स्याहार गर्ने परिवारका सदस्य नै छैनन्।

दुवै खुट्टा नचल्ने उनको अचेल कम्मर मुनीको भाग नै चल्दैन। दाँया खुट्टामा ठूलठूला घाउ आएको छ। घाउ पाकेर पिप चुहिन्छ। चौबिसै घण्टा पिसाव चुहिन्छ। उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दा साहारा चाहिन्छ।

आमा छँदा आमाले र आमाको मृत्युपछि सानी आमाले उनको उपचारका लागि दाङको गोरखा अस्पताल, काठमाडौँको बालकान्ति अस्पताल र टिचिङ अस्पताल, काभ्रे बनेपाको शील मेमोरियस अस्पताल जस्ता दर्जनौं अस्पताल पुर्‍याए। तर, घरको आर्थिक अवस्था कमजोर भएकी उनलाई पैसा अभावले राम्रो उपचार हुन पाएन।

अस्पतालको धान्नै नसकिने शुल्क। सहयोग उठाएको २र४ पैसा र ऋण गरेको पैसाले कहाँ धान्थ्यो र। ऋण धेरै भएपछि ७ लाख मूल्यमा खेत पनि बेच्यो, उनको परिवारले। उपचार गर्दा विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न पुगेन खेत बेचेको पैसाले।

‘पैसा हुनेको लागि मात्रै हो, अस्पताल गरीब दुखीलाई हेर्दैनन्,’ भीमकुमारीको स्याहार गर्दै आएकी विर्षना घर्तीमगरले भनिन्, ‘टिचिङ अस्पतालमा त भर्ना शुल्क नै ४५ हजार माग्यो तेत्रो पैसा कहाँबाट दिने।’

घर अगाडि ३ महिना खान नपुग्ने पाखो बारीबाहेक अब उनको परिवारसँग अर्थोक केही छैन। साँझ बिहानको हातमुख जोर्न समस्या छ। अहिलेसम्म सानी आमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन।

‘अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको छु, आफ्नै परिवार पाल्न हम्मेहम्मे परेको मलाई लामो समयसम्म सहयोग गर्न सक्ने हैसियत छैन,’ बिरामीकी सानीआमा विर्षना घर्तीमगरले भनिन।

‘छोरा अपांग, बुहारीको स्वर्गेवास, अपांग साइली नातीनी लामो समयसम्म बिरामी, काइली र कान्छी दुईरदुई नातिनी अवोध म कसरी संरक्षण गरूँ,’ ८१ वर्षीया नौला घर्तीमगरले भक्कानिदै भनिन, ‘मेरो परिवारमा यति धेरै पीडा एक्लै कसरी सामना गरू।’