गाउँमा ‘‘हलो जोत्दै” पूर्व सभामुख महरा

२५जेठ,रोल्पा । पूर्वसभामुख कृष्णबहादुर महराले २५ वर्ष पछि आफ्नो बारी जोतेका छन् ।
सपरिवार जन्मथलो रोल्पा आएका महराले मकै छर्नका लागि बारी जोतेका हुन । महरासँगै उनका छोरा र बालसखाहरुले साथ दिएका थिए । लकडाउन पछि पटक—पटक गृहजिल्ला आएका महराले यस पटक भने बरी जोत्न समेत भ्याएका हुन ।
२०४८ सालको संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए महरा । सांसद निर्वाचित भएसँगै महराको बसाई काठमाण्डौँ केन्द्रीत भए पनि समय—समयमा घर आउजाउ चलिरहन्थ्यो । २०५२ साल फाल्गुन १ गते सशस्त्र युद्ध घोषणा हुनु पूर्व नै महरा भूमिगत भएका थिए । भूमिगत पछि महराको घर आउजाउ पूर्ण रुपमा बन्द भयो । दोश्रो जनआन्दोलन पछि सुरु भएको शान्ति प्रकृयाको केन्द्रीय भूमिकामा रहेका महराले रोल्पा नपा १ मेबाङमा रहेको घरलाई समय दिन सकेका थिएन । युद्धकालभर महराको घर बेवारिसे थियो । शान्ति प्रकृया पछि भने सो घरमा माओवादी कार्यकर्ता वस्थे । महराले यस वर्ष आफ्नो जन्म घरमै दशै मनाउने तयारी गरेका थिए तर योजना पुरा पाएको थिएन । पुरानो घर मर्मत गर्नुका साथै घर अगाडी दुर्गा भवानीको मन्दिर समेत बनाएका महरा मर्मत पछि बनेको घरमा बस्न नपाउदै जेल जानु परेको थियो ।
जेलबाट छुटे लगत्तै १ हप्ता आफ्नै घरमा बिताएका महरा त्यस पछि पटक—पटक घर आउजाउ गरिरहेका छन्। यस अघिका जिल्ला भ्रमणमा महराले सदरमुकाम लिबाङका महंगा होटलमा प्रयोग गरे पनि यस पटकको आफ्नै घरको बसाईले जिल्लाबासीबाट प्रशंसा पाएका थिए । उनको बालसखा भन्दै थिए अब मेबाङमै बस्नुस । महरालाई भेटघाट गर्न चाहानेहरुलाई उनको घरमै भेटघाटको बन्दोबस्त मिलाइएको छ । यो समाचार बुटवल टुडेमा महेश न्यौपानेले लेखेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस