म सविता
यो नाम जसले
कतिलाई हसायो
कतिलाई रूवायो
कतिलाई आक्रोशित बनायो
जसलाई सामाजिक मर्यादाले खायो
सुन्छौ ? पीडा मिसिएका आवज मेरा
आउ म सुनाउछु
अब डर त्रास भय केही छैन

‘समाजले के भन्ला
मेरै त बदनाम होला
घर त्यागी शिर कहाँ लुकाउला
मेरै जन्मघरको छ बन्द ढोका
कहाँ गई सिङ्गो जीवन कटाउला’
यि र यस्तै त्रास खरानी भए
जसरी म स्वयम् खरानी भए
सोध, के सोध्न मन छ ?
म निर्धक्क भन्नेछु
छैन अब भय

नरोउ आमा
तिम्रो आँशुले पोल्छ मलाई
म त त्यती बेला नै मरी सकेकी थिए
जति बेला केही सुझाव र निर्देशन पाएकी थिए
‘छोरी, नर्कलाई स्वर्ग बनाउनै पर्छ
कोसिस गरेर घर जमाउनै पर्छ
केही ईज्जत बचाउन केही सहनै पर्छ’
म आगोको लप्का सहन तयार बने
आगोले जीउँदो राखेन आमा,
म विस्तारै खरानी बने

मलाई सुन्ने आमाहरु सुन्न
आँगन पोलेर दिदैमा, नपोल छोरीका बिछ्यौना
जे परे पनि सहनै पर्छ, तेरो भाग्य यस्तै नभन

हे कानुनका पहरेदार सुन्न
मलाई मृत्युको ज्वालामा धकल्नेलाई नछोड
र भत्काएर छोड
ति सामाजिक दायाराहरू
जहाँ छोरी सीता होस सोचिन्छ
जहाँ छोरी धर्ति होस सोचिन्छ
जहाँ आँगनसँगै छोरीका अधिकार पोलिन्छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस