अनेरास्ववियुलाई प्रत्येक महिना कार्यक्रम गर्न उपाध्यक्ष पाण्डेको अपिल

२८जेठ, बुटवल । अनेरास्ववियु रुपन्देहीले शैक्षिक क्षेत्रमा देखिएका समस्याको साथसाथै आम जनतासँग जोडिएका समस्या सामाधानका लागि आफ्ना नेता कार्यकर्तालाई आन्दोलित हुन अपिल गरेको छ ।

शनिबार देवदह आदर्श क्याम्पसमा बसेको चौथो नियमित बैठकले शैक्षिक क्षेत्रमा देखिएका समस्यासँगै आम जनताको जीवन यापनमा देखिएका समस्या समाधानका लागि सशक्त आन्दोलन गर्ने तयारी गरेको हो ।

अनेरास्ववियुले जनताको जिवनमा प्रत्यक्ष प्रभाव पार्ने दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिलाई नघटाएसम्म सशक्त आन्दोलन गर्ने समेत तयारी गरेको छ ।

जनतासँग प्रत्यक्ष जोडिएको जीवनयापन र शैक्षिक क्षेत्रका समस्या समाधान गर्न सबै तहका कमिटी सक्रिय बनाउने लगायतका महत्त्वपूर्ण निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेलले बताए ।

अनेरास्ववियुको नियमित बैठकलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले संगठनका हरेक कमिटीले हरेक महिना एउटा कार्यक्रम अनिवार्य गर्न निर्देशन दिएका छन् । प्रमुख अतिथि समेत रहेका पाण्डेले देशकै नमुना कमिटी बनेर देखाउन रुपन्देही जिल्ला कमिटीलाई आग्रह गरे ।

बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले अनेरास्ववियु प्रती आम जनताको पूर्ण विश्वास रहेकोले जनताको चाहना अनुरुप आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले जनताको जिवनमा प्रत्यक्ष प्रभाव पार्ने समस्या समाधान गर्न अनेरास्ववियु मात्र सक्षम भएको समेत बताए ।

बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटीका सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले अनेरास्ववियुका नेता कार्यकर्तालाई परम्परागत ढंगले नभएर आधुनिक र समयको माग अनुसार चल्न आग्रह गरे । जिल्ला कमिटीका पूर्व अध्यक्ष समेत रहेका पाण्डेले अनेरास्ववियुको अगुवाईमा प्राप्त भएका उपलब्धिहरुको रक्षाका लागि गम्भीर हुनुपर्ने अवस्था आएको बताउँदै अनुशासन पूर्वक समाजले स्वीकार गर्न सक्ने काम गर्न सबैलाई अपिल गरेका छन् ।

बैठकमा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य रबि सेन्चुरी, केन्द्रीय कमिटी सदस्यहरु साजन भन्डारी, कृष्ण पौडेल, सन्दिप गुप्ता, सीमा घिमिरे, सरोज ठकुरी, जिल्ला अध्यक्ष शेषकान्त पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बैठकले अनेरास्ववियुका नेता रबि सेन्चुरी तिलोत्तमा नगर कार्यपालिका सदस्यमा निर्वाचन भएकोमा सम्मान समेत गरेको छ ।

पार्टीको पक्षमा जनमत सिर्जना गर्न टिकटक र सामाजिक सञ्जालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै देवदहका स्वस्तिका खड्का र कबिता न्यौपानेलाई समेत सम्मान गरेको प्रचार विभाग उपप्रमुख सुरज भट्टराईले बताएका छन् ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस