३० जेठ, रोल्पा । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले रोल्पाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल तथा अन्य निकायहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्लामा ११ सय एन्टिजिन किट, अक्सिजन जेनेरेटर, एन ९५ मास्क, सर्जिकल मास्क, अक्सिजन ब्यागलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री निःशुल्करुपमा प्रदान गरिएको पुनको सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)को आग्रहमा चीन तथा अन्य देशमा रहेका पार्टी निकट संगठनहरुले पठाएको स्वास्थ्य सामग्री विभिन्न जिल्लामा पु¥याइएको बताइएको छ । पूर्वमन्त्री पुन तथा पूर्वसभामुख ओनसरी घर्तीसहितको टोलीले रोल्पाका दशवटै स्थानीय तह तथा अन्य निकायलाई स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएको छ ।

अस्पताल र स्थानीय तहलाई एन्टिजिन किट
पूर्वमन्त्री पुनले रोल्पाका लागि ल्याएका ११०० एन्टिजिन किट रोल्पा अस्पताल र दशवटा स्थानीय तहलाई हस्तान्तरण गरेका छन् । शुक्रबार सुलिचौरमा सुनिलस्मृति, सुनछहरी र लुंग्री गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री दिएका उनले शनिबार रोल्पा अस्पतालमा र आइतबार जिल्लाको पश्चिमी क्षेत्रका स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउँदा हप्तादिनसम्म पनि नतिजा नआउने हुँदा समस्यामा रहेका स्थानीय तहलाई पूर्वमन्त्री पुनले हस्तान्तरण गरेको एन्टिजिन किटले धेरै समस्या हल गर्ने स्थानीय तहहरुले बताएका छन् । ‘एन्टिजिन किटले कोरोना जाँचमा छिटोछरितो हुने भएकाले पनि यसलाई प्रभावकारी ठानेका छौं’ सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भने, ‘पूर्वमन्त्रीज्यूले स्वास्थ्य सामग्री दिएर हामीलाई थप हौसला दिनुभएको छ, सबैको सकारात्मक पहलकदमीले कोरोना भाइरसलाई पराजित गर्नेछौं ।’

अग्रपंक्तिमा रहेकालाई प्राथमिकता
कोरोना भाइरसबाट अग्रपंक्तिमा रहेकाहरु सबैभन्दा धेरै प्रभावित हुने भन्दै जिल्लाका विभिन्न निकायलाई प्राथमिकताका साथ स्वास्थ्य सामग्री उपलब्ध गराइएको पूर्वमन्त्री वर्षमान पुनले बताए । शनिबार रोल्पा अस्पतालमा आयोजित कार्यक्रममा पूर्वमन्त्री पुन, पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेश सांसद दीपेन्द्र कुमार पुनले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे । जसअनुसार रोल्पा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर १ थान, एन ९५ मास्क १ सय वटा, सर्जिकल मास्क २५ सय वटा, इन्टिजिन किट १ सय वटा र पिपिई सेट २ सेट हस्तान्तरण गरिएको थियो ।

त्यस्तै रोल्पा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर २ थान, एन ९५ मास्क २ सय वटा, सर्जिकल मास्क ५ हजार वटा, एन्टिजिन किट १ सय वटा, पिपिई ५ सेट र सेनिटाइजर १ कार्टून उपलब्ध गराइएको छ । अन्य निकायहरुमा जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल पत्रकार महासंघ, रोल्पालाई एन ९५ मास्क ५० र सर्जिकल मास्क १ हजार पिसका दरले हस्तान्तरण गरिएको थियो । त्यस्तै राष्ट्रिय अनुसन्धानलाई ५ सयवटा सर्जिकल मास्क, जिल्ला कारागारलाई १ हजारवटा सर्जिकल मास्क र लिबाङमा रहेको बालकल्याण नमुना माविलाई १ हजारवटा सर्जिकल मास्क हस्तान्तरण गरिएको छ ।

आइतबार घर्तीगाउँमा अक्सिजन कन्सन्ट्रेटर १ थान, एन ९५ मास्क १ सय वटा, सर्जिकल मास्क ३ हजार वटा, एन्टिजिन किट १ सय वटा र पिपिई २ सेट माडी र गंगादेव गाउँपालिकालाई समान परिमाणमा हस्तान्तरण गरिएको छ भने जिल्लाको परिवर्तन, थबाङ, त्रिवेणी र रुन्टीगढी गाउँपालिकालाई पनि सोही अनुपातमा वितरण गरिने बताइएको छ ।

पहिले कोरोनाविरुद्ध लडौं, राजनीति गर्दै गरौंलाः अनन्त
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले स्वास्थ्य जस्तो संवेदनशील विषयमा राजनीति नगर्न सबैसँग आग्रह गरेका छन् । स्वास्थ्य सामग्री जिल्लामा पु¥याउने विषयमा केही व्यक्तिहरुले गैरजिम्मेवारीपूर्ण हिसाबले राजनीति गर्न खोजेको भन्दै उनले त्यसको कडा प्रतिवाद गरे । ‘पहिले सबैको साझा दुष्मनको रुपमा रहेको कोरानाविरुद्ध लडौं’ पुनले भने, ‘मान्छेको ज्यान बचाउने सवालमा कोही नपन्छिऔं, राजनीति त गर्दै गरौंला ।’ आफूले पनि नगर्ने तर गर्न खोज्नेहरुलाई पनि गर्न नदिने प्रवृत्तिले कोही कसैलाई फाइदा नहुने उनको तर्क थियो ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यसमेत रहेका पुनले कोरोना संक्रमण जोखिम अझै रहेकाले सबै सचेत र सतर्क रहनुपर्नेमा जोड दिए । सधैभरि निषेधाज्ञा गरेर पनि समस्या नहट्ने भन्दै उनले स्वास्थ्य सतर्कता अपनाएर विकास निर्माण तथा अन्य काम पनि सँगसँगै अगाडि बढाउनुको विकल्प नरहेको बताए । कोरोनासँग पनि लड्ने र काम पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

पूर्वमन्त्री पुनसँग प्रेस संगठन रोल्पाले पत्रकार भेटघाट समेत गरेको थियो । प्रेस संगठन रोल्पाका संयोजक देवी गुरुङको अध्यक्षतामा आयोजित भेटघाटमा पूर्वमन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजनीतिक संकट आएको र अब विस्तारै त्यसले एउटा गति पकड्न थालेको बताए ।