सहर भन्दा गाउँमा संक्रमण बढी

तस्विर सौजन्य : क्षितिज जङ्ग पुन

४असार, रोल्पा । भिडभाड हुने शहर बजारमा संक्रमणको जोखिम बढी हुनु स्वभाविक मानिन्छ । तर रोल्पामा भने सदरमुकाम तथा बजार क्षेत्रमाभन्दा दुर्गम गाउँहरुमा संक्रमण बढी देखिएको छ ।

पछिल्लो हप्ता जिल्लाका दुर्गम गाउँहरुमा संक्रमितको संख्या उच्च देखिएको छ । जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकामा हाल ३३ जना मात्र संक्रिय संक्रमित हुँदा लुङ्ग्री गाउँपालिकामा भने १ सय ४८ जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय संक्रमण दर बजार भन्दा दुर्गम गाउँहरुमा बढी देखिएको स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण भिटु उपाध्यायले बताए । उनका अनुसार जिल्लाका दुर्गम गाउँपालिकाहरु थबाङ, परिवर्तन, गंगादेवमा संक्रमितहरुको संख्या बढीरहेको छ ।

दुर्गम गाउँहरुमा अझै प्रयाप्त मात्रामा परिक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाई छ । यद्यपि परिक्षणको दायरा बढाउन सके संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्यकर्मीहरुको अनुभव छ ।

जिल्लामा गत वैशाख २३ गतेदेखि निषेधाज्ञा लगाइएको भएता पनि यसको पूर्ण रुपमा पालना हुन नसक्दा संक्रमण घट्न सकेको छैन् । गाउँमा विवाह भोज, मृत्युपछि हुने सामाजिक कार्यमा समेत भिडभाड हुने भएकाले संक्रमण तिब्र रुपमा फैलिएको रोल्पा अस्पतालका सिनियर अहेब कुलबहादुर डाँगीले बताउ छन् ।

‘गाउँमा थुप्रै विरामी छन्’ डाँगीले भने ‘तर तिनीको परिक्षण र उपचार हुन सकेको छैन् ।’ स्थानीय सरकारले उनीहरुलाई अस्पतालसम्म लिएर परिक्षण तथा उपचारको व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ ।

हाल जिल्लाको थबाङमा ४८, परिवर्तनमा ३६ र गंगादेव गाउँपालिकामा २७ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्लाको रुन्टिगढीमा ७८, त्रिवेणीमा २४, माडीमा १७ र सुनिलस्मृति गाउँपालिकामा ११ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । सुनछहरी गाउँपालिकामा भने हाल संक्रमितको संख्या सून्य रहेको छ ।

रोल्पामा हालसम्म १८ सय ९५ जनामा संक्रमण देखिएकोमा १३ सय ९७ जना संक्रमण मुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या ४ सय ७८ रहेको छ ।
कोरोना भाइरसको दोस्रो लहर आएदेखि रोल्पामा १८ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस