
६ असार, रोल्पा, । केहि दिनअघि डाक्टर सहितको एक टोलीले अनुगमन गर्दा रोल्पाको परिवर्तन गाउँपालिकामा मापदण्ड विपरित आइसोलेसन सञ्चालन गरेको पाइयो ।
स्थानीय तहले चिकित्सक विनै आइसोलेसन सञ्चालन गरेको, संक्रमितलाई कुन बेलामा कस्तो औषधि चलाउने, अक्सिजन कहिले लगाउने र कुन अवस्थामा रिफर गर्ने जस्ता सामान्य तालिम समेत नदिएरै स्वास्थ्यकर्मीलाई आइसोलेसनको जिम्मा दिएको पाइएको हो ।
रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. आधार ओली सहितको अनुगमन टोलीले अनुगमन गर्दा आइसोलेसनले संक्रमितको उपचार भन्दा पनि थप समस्या निम्ताउने गरेको रोल्पा अस्पतालका सिनियर अहेब कुलबहादुर डाँगीले बताए ।
‘यो त एउटा उदाहरण मात्र हो’ डाँगीले भन्नुभयो ‘रोल्पाका अधिकांश स्थानीय तहले मापदण्ड नपु¥याएरै आइसोलेसन सञ्चालन गर्दा संक्रमितको उपचारमा समस्या भएको छ ।’
मापदण्ड विपरित सञ्चालनमा आएका आइसोलेसनमा धेरै बेर होल्ड गरेर संक्रमितहरुमा गम्भीर समस्या आएपछि मात्र अस्पताल रिफर गर्दा कतिपयको ज्यानै समेत गएको अस्पतालको भनाई छ ।
रोल्पा अस्पतालका सूचना अधिकारी समेत रहेका सिनियर अहेब डाँगीले भने ‘स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनले समयमै रिफर गरेको भए ति संक्रमितहरुको ज्यान बच्न सक्थ्यो ।’
रोल्पामा हाल ४ सय ३१ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको दोस्रो लहर आएदेखि रोल्पामा १८ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।