
७असार,रोल्पा । कोरोना भाइरसको दोस्रो लहरले रोल्पाको थवाङ गाउँपालिकालाई पनि सामान्य प्रभावित पारेको छ।
महामारी नियन्त्रण र रोकथामको निम्ति पाँच शैय्याको आइसोलेशनलाई बढाएर गाउँपालिकाले २० शैय्याको बनाएको छ।विभिन्न व्यक्तिहरूको पहल र सहयोगमा अक्सिजन सिलिण्डरको समस्या समाधान भएको छ।
विदेशमा रहेका थबाङीहरूको सहयोगमा पाँच वटा स्वास्थ्य उपकरण पनि व्यवस्थापन गरिएको छ। साउदी अरबमा बस्ने युवाहरूले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
विभिन्न व्यक्तिहरूबाट सहयोग जुटेको कारण अहिले प्राप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले बताए।
निश्चित व्यक्तिहरुको सहभागितामा सामजिक दुरी कायम गरी भौतिक पूर्वधारका कामहरू सञ्चालन भइरहेको छ।
महामारी नियन्त्रण गरी जनताको जीवन रक्षा गर्दै जनजीवनलाई सामान्य स्थितिमा ल्याउनु स्थानीय सरकारको पहिलो दायित्व भएको उनले बताए।
थबाङ ऐतिहासिक गाउँ भएकाले पनि तीनै तहको सरकारबाट प्राप्त अनुदानको पूर्ण सदुपयोग भइरहेको अध्यक्ष घर्तीले जानकारी दिए।
‘मैले जुन योजना लिएर कार्यकाल सम्हालेको थिए, ती सबै विस्तारै पूरा हुदैछन्’, उनले भने, ुकेही कामहरू निर्माणाधीन अवस्थामा पनि छन्। छिट्टै नै सबै योजनाहरू सम्पन्न हुन्छन् ।
एकसय गन्तव्यमा परेको चर्चित पर्यटकीय क्षेत्र जलजलालाई धार्मिक गन्तव्य संरक्षण गर्न विभिन्न योजनाहरू अघि सारिएको अध्यक्ष घर्तीले बताएका छन्। कोरोना महामारी नियन्त्रणपछि थबाङ–जलजलामा आन्तरिक पर्यटकहरूको चहल–पहल बढ्ने बताइएको छ।
थवाङमा रहेका परम्परागत सांस्कृतिहरुलाई पनि संरक्षण गर्न सूचीकृत गरेर व्यवस्थित गर्ने काम भइरहेको छ।
कुराकानी आधारित सम्पादित अंश-सम्पादक