सुनिलस्मृति गाउँपालिकाको ५८ करोड ६० लाख बढि बजेट

१०असार,राेल्पा ।सुनिलस्मृति गाउँपालिकाले पनि आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रमसहित अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आठौं गाउँसभाबाट ५८ करोड ६० लाख ९६ हजार ४ सय ९४ रुपैयाँको बजेट विनियोजन गरी सार्वजनिक गरेको हो ।

गाउँपालिकाको बजेट विनियोजन गर्दै आर्थिक विकास समितिका संयोजक गन्जबहादुर क्षेत्रीले कूल बजेट मध्ये अल्या ५ करोड, संघीय सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान १० करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान ५२ लाख ७७ हजार गरी जम्मा वित्तीय समानिकरण अनुदान  ११ करोड २ लाख ७७ हजार रहेको बताए ।

क्षेत्रीका अनुसार संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडबाट ८ करोड ५७ लाख ५४ हजार र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड ४७ लाख १५ हजार गरी जम्मा राजस्व बाँडफाड ९ करोड ४ लाख ६९ हजार रहेको छ । यस्तै संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान क्रमशः २३ करोड ३३ लाख र २ करोड ८ लाख ५० गरी ससर्त अनुदान २५ करोड ४१ लाख ५० हजार रहेको छ ।

समपुरक कोषमा नेपाल सरकार र प्रदेश सरकारबाट क्रमशः १ करोड २० लाख र १ करोड ५० लाख गरी जम्मा समपुरक कोषको २ करोड ७० लाख रहेको आर्थिक विकास समितिले सार्वजनिक गरेको छ ।

समितिका अनुसार जि.स.स. कोषबाट प्राप्त हुने रकम ४२ लाख, संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता ४ करोड र गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड रहेको छ ।

गाउँपालिकाले आर्थिक, सामाजिक विकास र गरिबी न्यूनीकरण, पूर्वाधार विकास, संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह, कोभिड १९ को रोकथाम तथा नियन्त्रण, दीगो विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस