
१५ असार,काठमाडौं, । नेपालमा प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस मनाइन्छ । यसवर्ष पनि आज रोपाइँ गरी दही च्यूरा खाएर धान दिवस मनाइँदैछ । वि।सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउने प्रचलन शुरु भएको हो ।
यस वर्ष कोरोना महामारी तथा केही दिन अगाडि मात्रै नेपाल प्रवेश गरेको सलह किराका बाबजुद पनि धान दिवस मनाइँदै छ । विभिन्न कृषक तथा कृषि सम्बन्धी सरकारी एवं गैरसरकारी संघसंस्थाहरुले पनि व्यक्तिगत दूरी कायम राखी धान दिवस मनाइने बताइएको छ ।
गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँमा उल्लेख्य वृद्धि भएको छ । असार १० गतेसम्म २०.०५ प्रतिशत धान रोपाइँ भएको छ । जब गतवर्ष यतिबेला ११।६४ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका अनुसार सबभन्दा बढी २६.०७ प्रतिशत धान रोपाइँ उच्च पहाडी क्षेत्रमा भएको छ । त्यस्तै मध्य पहाडी क्षेत्रमा २०.०७ र तराई क्षेत्रमा १९.७५ प्रतिशत मात्र रोपाइँ भइसकेको छ ।
यसैबीच असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिने गरेको पाइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने प्रचलन भएको जानकारहरु बताउछन् । उनीहरुका अनुसार मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।